हिमाल दैनिक
संसदको हिउँदे अधिवेशन माघ २२ गतेदेखि बोलाउन सरकारको सिफारिस

सरकारले आगामी माघ २२ गते संघीय संसदको अधिवेशन आह्वान गर्न सिफारिस गर्ने निर्णय गरेको छ।

सिंहदरबारमा मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले माघ २२ गते अपरान्ह ४ बजे संघीय संसदका दुबै सदनको अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन्।

यसअघि गत कार्तिक १६ गते सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले संसदको बजेट अधिवेशन अन्त्य गरेका थिए। संसदीय भाषा र अभ्यास अनुसार, प्रत्येक आर्थिक वर्ष सुरु हुनुअघि बस्ने अधिवेशनलाई बजेट अधिवेशन तथा त्यसपछि बस्ने अधिवेशनलाई विधेयक अधिवेशनको नामले चिन्ने गरिन्छ।

मन्त्रिपरिषद् बैठकले जापान सरकारबाट कोटेश्वर इन्टरसेक्सन इम्प्रुभमेन्ट प्रोजेक्ट कार्यान्वयनका लागि प्रस्ताविक ३४ अर्व ४९ करोड जापानी यन सहायतासम्बन्धी मस्यौदा सम्झौतालाई अन्तिम रूप दिन जापान सरकारसँग वार्ता गर्ने टोली गठन गर्ने निर्णय भएको प्रवक्ता शर्माले जानकारी दिइन्।

त्यस्तै बैठकले राष्ट्रिय खेलकुद विकास नियमावली, २०७९ को नियमन १६ को उपनियम (१) को खण्ड (क) बमोजिम डा. असिम भण्डारीलाई राष्ट्रिय एन्टिडोपिङ एजेन्सीको संयोजक पदमा मनोनयन गर्ने निर्णय पनि गरेको छ।

प्रकाशित मिति: मंगलबार, माघ ९, २०८०  १७:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update