हिमाल दैनिक
कोशीको परिणामले झस्कायो गठबन्धनका नेतालाईः यस्तै स्थिति रहे के होला २ वर्षपछिको निर्वाचन परिणाम?

राष्ट्रिय सभा सदस्य निर्वाचनका क्रममा कोशी प्रदेशमा भएको फ्लोर क्रसका परिणामले सत्ता गठबन्धनमा रहेका दललाई नराम्रोसँग झस्काइदिएको छ।
 
माघ ११ गते सम्पन्न निर्वाचनमा कोशी प्रदेशमा ८ सय मतभार बढी रहेको गठबन्धनकै साझा उम्मेदवार करिब सय मतभारको अन्तरले पराजित भएपछि उक्त विषय गठबन्धन दलले उक्त घटनालाई गम्भीर र चिन्ताको विषयका रुपमा लिन पुगेका हुन्।

निर्वाचनको परिणाम आए पश्चात प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार साँझ बसेको सत्ता गठबन्धन दलका शीर्ष नेताहरुबीचको बैठकले राष्ट्रियसभा निर्वाचनको  परिणामाका बिषयमा प्रारम्भीक छलफल भएको थियो।

उक्त छलफलका क्रममा सातै प्रदेशको निर्वाचन परिणामको विषयमा समिक्षा गर्दै विशेषगरी कोशी प्रदेशमा भएको भोट क्रसको परिणामले नेकपा माओवादी केन्द्रकी उम्मेदवार चम्पादेवी कार्की भन्दा पनि गठबन्धनकै साझा उम्मेदवार पराजित भएको निचोड निकालेका थिए।

बैठकपछि कांग्रेस प्रमुख सचेतक रमेश लेखकले कोशी प्रदेशमा सत्तापक्षीय दलको एक सिट गुमाएको बिषयसँगै अन्य प्रदेशको नजिताका बिषयमा छलफल भएको जानकारी दिए।

गठबन्धनमा रहेका दलका प्रदेश सभा सदस्यसँगै स्थानीय तहका प्रमुख/उपप्रमुखहरुको संख्यासँगै त्यसको मतभार विपक्षी उम्मेदवारको तुलनामा सबै प्रदेशमा ज्यादा रहेको र त्यसका बाबजूद अरु प्रदेशमा छिटपूटमात्रामा भोट क्रस भएको भएपनि कोशी प्रदेशमा अधिक संख्यामै भोट क्रस हुँदा गठबन्धनले एक सिट गुमाएको उनले बताए।

‘अहिलेका लागि कोशीमा गठबन्धनले एक सिट मात्र गुमाएको हो। तर, गठबन्धनसँगै यसमा सहभागी प्रत्येक दलले यो घटनाको विषयमा गम्भीर समिक्षा गरी त्यो समस्याको पहिचानसँगै समाधान नखोज्ने हो भने, राष्ट्रिय सभाको निर्वाचन त २ वर्षपछि फेरि पनि हुन्छ। अनि त्यतिबेला पनि दलहरबीच चुनावी तालमेल गर्नु पर्ने अवस्थामा यसले थप समस्याको रुपमा नबल्झियोस् भन्ने उद्देश्यले नै नेताहरुले यसको गम्भीर समिक्षासँगै समाधन खोज्न लाग्नु भएको हो,’ उनले भने।

नेताहरुबीच निर्वाचनपूर्व नै कोशीको चुनावी नतिजामा हुनसक्न असरबारे साबधानी अनपाउने कोशिश हरसम्भव भएको र त्यसका लागि विशेषगरी कांग्रेसका लेखक र माओवादीका नेता वर्षमान पुनलाई चुनावअघि फिल्डमै खटाइएको थियो। हिँजोको बैठकमा पनि कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले लेखक र पुनले निर्वाचनपूर्व दुबै दलका मतदातालाई हरसम्भव सम्हाल्ने प्रयास गरेतापनि कतिपय मत क्रस हुँदा गठबन्धनले शतप्रतिशत सफलता प्राप्त गर्न नसकेको जानकारी दिएका थिए।

कोशी प्रदेशको नतिजाका आधारमा गठबन्धनभित्र कुनै प्रतिकुल प्रभाव नपार्ने दाबी लेखकले गरे।

कोशीको बिषय प्रधानमन्त्री वा कांग्रेस सभापतिको मात्रै नभएर गठबन्धनमा रहेका सबै दलको सरोकारको बिषय भएको भन्दै उनले यसमा कसैलाई दोष दिन नहुने प्रतिक्रिया पनि दिए।

आगामी फागुन २० गतेदेखि रिक्त हुन लागेको राष्ट्रिय सभाका अध्यक्षको चयनका बिषयमा नेताहरुबीच छलफल भए÷नभएको विषयमा सोधिएको प्रश्नको जवाफमा कांग्रेस नेता समेत रहेका प्रमुख सचेतक लेखकले निर्वाचन पश्चात नेताहरु पहिलो पटक प्रारम्भिक समिक्षाका लागि बसेको उल्लेख गर्दै राष्ट्रिय राजनीतिका महत्वपूर्ण मुद्दा लगायत अन्य विषयमा पछि छलफल गर्दै र समाधान निकाल्दै जाने जाननकारी दिए।

 

प्रकाशित मिति: बुधबार, माघ १७, २०८०  १५:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update