हिमाल दैनिक
राष्ट्रिय सभा अध्यक्षमा गठबन्धनको साझा उम्मेदवार हुन्छः नेता नेपाल

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले राष्ट्रिय सभा अध्यक्ष पदका लागि सत्ता गठबन्धनभित्र सहमति जुट्ने दावी गरेका छन्।

बिहिबार चितवनको भरतपुर विमानस्थलमा सञ्चारकर्मीसंग कुरा गर्दै अध्यक्ष नेपालले राष्ट्रिय सभा अध्यक्ष पदमा गठबन्धनभित्रका दलको छुट्टाछुट्टै दावी रहेपनि यसमा सहमति जुट्ने विश्वास व्यक्त गरे।

फागुन २० गतेदेखि वर्तमान अध्यक्ष गणेशप्रसाद तिमिल्सिना आफ्नो ६ वर्षे कार्यकाल पूरागरी विदा हुँदै गरेको अवस्थामा उक्त पदमा सत्तारुढ नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र दुबैको तर्फबाट उम्मेदवार दिने घोषणा भएपछि त्यसले गठबन्धनमा पार्न सक्ने असरबारे चर्चा चलिरहेकै बेला नेता नेपालले यस्तो दाबी गरेका हुन्।

सत्ता साझेदार दलमध्येको एक दलका नेता नेपालले अहिले गठबन्धनभित्र कुनै प्रश्न खडा नभएको र त्यो बलियो जगमा उभिएको दाबी गर्दै कुनै पनि समस्या आए त्यसको छलफलबाटै सहमतिबाटै समाधान खोज्न सक्ने विश्वास पनि व्यक्त गरे।

विशेषगरी कांग्रेसको हालै सम्पन्न महासमिति बैठकमा आगामी निर्वाचनमा गठबन्धन नगरी एक्लै लड्ने विषयदेखि वर्तमान सत्ता गठबन्धनको विषयमा चर्को विवाद उठेपछि गठबन्धनका सहयात्री दलहरुबीच केही तिक्ततापूर्ण परिस्थिति उत्पन्न हुने हो कि भन्ने आशंका बढ्दैछ।

तर, नेता नेपालले गठबन्धनभित्र दरार देखिए त्यसको वार्ता र छलफबाटै हल गरिने बताए।

अध्यक्ष नेपाल भरतपुर भ्रमण बर्ष २०२४ को उद्घाटन सत्रमा सहभागी हुन चितवन आइपुगेका हुन्।

 

प्रकाशित मिति: बिहीबार, फागुन १७, २०८०  १६:३४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update