हिमाल दैनिक
कांग्रेससहितको सत्ता गठबन्धन खरानीकै डल्ला सावित

एक वर्षअघि नेकपा एमालेसहितका तीन दललाई छाडेर नेपाली कांग्रेसँग सत्ता गठबन्धन बनाउन पुगेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले अन्ततः पुरानै गठबन्धन व्यूँताउन तयार भएका छन्।

सत्ता साझेदार दल कांग्रेससँगको सहयात्राको क्रममा विविध कारणले रुष्ट बन्दै गएका दाहालले राष्ट्रिय सभाको नेतृत्व चयन प्रक्रिया सुरु ९ दिनअघि कांग्रेसलाई सरकारबाट गलहत्याउने रणनीतिकासाथ एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी लगायतका दलसँग सत्ता गठबन्धनको गृहकार्य थालेपछि कांग्रेस केन्द्रदेखि सातै प्रदेशमा सत्ता बाहिर पुग्ने स्थितिमा पुगेको हो।

विशेषगरी केही महिनाअघि कोशी प्रदेश सरकारको नेतृत्वको विषयमा कांग्रेसभित्र एमालेले घुसपैठ गर्दै गठबन्धनको निर्णय विपरित कांग्रेसकै अल्पमत पक्षका सांसद केदार कार्कीलाई मुख्यमन्त्रीमा नियुक्तिसँगै विश्वासको मत दिएपछि कांग्रेस र माओवादीबीचको सम्बन्धमा दरार पैदा भएको थियो।

त्यसपछि पनि गत माघ ११ गते सम्पन्न राष्ट्रिय सभा सदस्य निर्वाचनमा कोशी प्रदेशबाट उम्मेदवार बनेकी चम्पादेवी कार्की गठबन्धनको बहुमतका बाबजूद पराजित भएपछि कांग्रेस र माओवादीबीच थप अविश्वास पैदा भएको थियो। जसलाई कांग्रेसको हालै सम्पन्न महासमिति बैठकमा उपसभापति पूर्णबहादुर खड्का र महामन्त्री गगनकुमार थापाले प्रस्तुत गरेको नीतिगत प्रस्ताव र सांगठनिक प्रस्तावमा उल्लेखित विवादित विषयले आगोमा घ्यू थप्ने काम गर्यो।

जसमा दाहालकै नेतृत्वमा रहेको सरकारमा कांग्रेसको तर्फबाट नेतृत्वगर्दै उपप्रधान तथा रक्षामन्त्री समेत रहेका उपसभापति खड्काले माअ‍ेवादीप्रति ठाउँ ठाउँमा आक्रमण गरी माओवादीले अनाहकमा चलाएको हिंसात्मक द्वन्द र प्रजातन्त्र विरोधी गतिविधिको संज्ञा दिए भने महासमितिको तीन दिनभरी महामन्त्री थापाले प्रस्तुत गरेको प्रस्तावमा उल्लेखित गठबन्धन विरोधी अवधारणाले विषेश चर्चा पायो।

फलस्वरुप, कांग्रेससँगको यात्रा ढिलो, चाँडो छाड्नै पर्ने परिस्थितिको निर्माण हुँदै गएको सहज अनुमान गर्न पुगेको माओवादी र यसको नेतृत्वले ‘कल करे सो आज, आज करे सो अभि’ को नीति अनुरुप आइतबार मध्यरातमै कांग्रेससँगको सहयात्रालाई पूर्णविराम लगाउने निर्णय गर्यो।

गत वर्षको पुस १० गते पार्टीभित्रैका कतिपय नेताहरुले उक्साएको कारण दाहाललाई सत्ताको नेतृत्व दिन देउवा अनिच्छुक देखिएपछि एमाले र रास्वपा लगायतलाई साथ लिएर सरकारको नेतृत्व लिन पुगेका दाहाललाई त्यसको महिनादिन कट्न नपाउँदै देउवाले नै फकाएर पुनः सत्ता गठबन्धनलाई व्यूँताएका थिए।

जसको कारण सबै प्रदेश सभा र प्रतिनिधि सभाको सभामुख, उपसभामुख पद गुमाउँदै गर्दा पनि देउवाले राष्ट्रपति पदमा आफ्ना सहयात्री मित्र रामचन्द्र पौडेललाई स्थापित गर्न मात्र होइन, केन्द्रदेखि सातै प्रदेश तहमा कही सत्ताको नेतृत्व त कहीँ सत्ता साझेदार दलका रुपमा सहभागी हुने अवसर मिलाएका थिए।

तर, पछिल्लो समयमा देउवाकै अतिविश्वास पात्र खड्कादेखि उनको राजनीतिक अवसानमा आफ्नो उदयको सम्भावना देखेर बसिरहेका इतरपक्षका नेता, कार्यकर्ताले माओवादी सरकार र गठबन्धनको निरन्तर विरोध गर्दै समाजमा गलत भाष्य निर्माण गरिरहेपछि सत्ता गठबन्धनको डुंगामा प्वालैप्वाल पर्यो। जसलाई देउवाले एकातिर टाल्न खोजे अर्कोतिर भ्वाङ, अर्को भ्वाङ थुन्न खोज्यो फेरि अर्को ठाउँमा भ्वाङ पर्यो। अन्ततः कांग्रेस सहभागी गठबन्धनको डुंगा आइतबारको सिमसिमे झरीमै डुब्यो।

ओलीले केही दिनअघि विराटनगरमा भनेजस्तै भयो कि अहिलेको गठबन्धन खरानीको डल्ला होे, जुन सुक्यो भनेपनि फुट्छ, फुट्छ कि भनेर पानीमा भिजायो भने पनि फुटिहाल्छ। 

प्रकाशित मिति: सोमबार, फागुन २१, २०८०  १२:४७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update