हिमाल दैनिक
नेता नेपाललाई फकाउन सत्तापक्षका दाहाल/ओलीदेखि विपक्षी दलका नेता देउवासम्मको दौडधूप

सत्ता गठबन्धनमा आएको आकस्मिक फेरबदलपछि सत्तामा रहेका दलदेखि विपक्षी बेञ्चमा पुगेका दलका शीर्ष नेताहरुको राजनीतिक दौडधूपले तिब्रता पाएको छ।

विशेषगरी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले अचानक सत्तासाझेदार दल नेपाली कांग्रेस र नेकपा एकिकृत समाजवादी (एस)लाई अत्तोपत्तो नदिई नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेसँग सहमति कायम गर्दै मन्त्रिमण्डल पुनर्गठन गरेपछि प्रमुख तीन दलका शीर्ष नेताहरुको दौडधूप बढेको हो।

तत्कालिन नेकपा एमालेबाट विभाजित भएर नयाँ दल बनाएका नेकपा एसका अध्यक्ष माधवकुमार नेपाललाई सत्तारुढ नेकपा माओवादी अध्यक्ष दाहाल र एमाले अध्यक्ष ओलीले मंगलबार नेपाल निवासमै पुगी सरकारमा सहभागी हुन औपचारिक आग्रह नै गरे।

त्यसको भोलिपल्टै बुधबार बिहान सत्ताबाट बाहिरिएलगत्तै दाहाललाई दिएको समर्थन फिर्ता लिएर विपक्षी दलको भूमिकामा पुगेको कांग्रेसका सभापति देउवा संसदीय दलका प्रमुख सचेतक रमेश लेखकलाई लिएर नेपालको कोटेश्वरमा पुगेका थिए।

सभापति देउवाले लेखकका अतिरिक्त आफ्नी पत्नी आरजु राणा देउवालाई पनि साथै लिएर नेपाललाई भेट्ने क्रममा दुई शीर्ष नेताहरुबीच राष्ट्रिय राजनीतिमा पछिल्लो समय अप्रत्यासित रुपमा विकसित घटनाक्रमका बारेमा छलफल भएको कांग्रेसका प्रमुख सचेतक लेखकले जानकारी दिए।

नेपालसँगको छलफलपछि संक्षिप्त प्रतिक्रिया दिँदै नेता लेखकले दुई नेताहरुबीच सकारात्मक भएकाले आपसी छलफल तथा भेटघाटलाई निरन्तरता दिने बताए।

प्रमुख सचेतक लेखकले विकसित राजनीतिक घटनाक्रमका विषयमा अहिले सबै राजनीतिक दलहरुसँग छलफल भइरहेको पनि जानकारी दिए।

मंगलबार राति प्रधानमन्त्री दाहाल र  एमालेका अध्यक्ष शर्मा ओलीले पनि नेपाल निवासमा पुगेर सरकारमा सहभागी हुन आग्रह गरेका थिए। एमाले अध्यक्ष ओलीले ०७८ मा गरेको दोस्रो पटकको संसद विघटन पश्चात ओलीबाट टाढिएका नेता नेपालले त्यतिबेलै एमालेका केही नेता र सांसद सहभागी गराएर नेकपा एस गठन गरेका थिए।

त्यसपछि नेता ओली र नेपालबीच चरम सत्रुतापूर्ण व्यवहार र आलोचनात्मक अभिव्यक्तिको आदानप्रदान हुँदै आएपनि औपचारिक रुपमा खासै भेटवार्ता हुन सकेको थिएन।

केही दिनअघि मात्रै विघटित सत्ता गठबन्धनका नेताहरुबीचको सहमति बमोजिम अबको एक वर्षपछि नेता नेपाल देशको प्रधानमन्त्री बन्ने सवालप्रति ओलीले कडा टिप्पणी गरेका थिए।

तर, पछिल्लो समय सत्ता गठबन्धनमा सहभागी दलहरुको अदलाबदली पश्चात सरकारको पक्षमा संसदमा देखिएको अंकगणितलाई ध्यान दिँदै ओली पहिलो पटक नेपाल निवास कोटेश्वर पुगेका थिए।,

मुलुकमा विकसित पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल र निर्णय गर्न नेता नेपालले आफ्नो पार्टीको सचिवालय बैठक आजै बसाइरहेका छन्।

प्रकाशित मिति: बुधबार, फागुन २३, २०८०  १३:४६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update