हिमाल दैनिक
सत्ता केन्द्रित चलखेलमा राप्रपा सहभागी हुँदैनः अध्यक्ष लिङदेन

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पछिल्लो राजनीतिक घटनाक्रममा विकसित सत्ता गठबन्धनको हेराफेरिमा केन्द्रित चलखेलमा सहभागी नहुने जनाएको छ।

बुधबार पार्टी कार्यालय धुम्वाराहीमा आयोजित बृहत जनप्रदर्शनको तयारी सम्बन्धी कार्यक्रममा बोल्दै राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले आफ्नो पार्टी सत्ता केन्द्रित चलखेलमा सहभागी नहुने स्पष्ट जानकारी दिए।

उनले राप्रपाको एकमात्र अर्जुनदृष्टि आन्दोलन भएको भन्दै सत्ता केन्द्रित चलखेलमा पार्टी सहभागी नहुने बताए।
एक वर्षअघि तत्कालिन प्रतिनिधि सभा सदस्यको निर्वाचन परिणाम लगत्तै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेसँगै कुममा कुम मिलाउँदै सरकारमा सहभागी हुन पुगेका लिङदेन तत्कालिन सत्ता गठबन्धनभित्र दुई महिनामै आएको बदलाबपछि सत्ता बाहिर रहन पुगेका थिए।

त्यसपछि हिन्दु राष्ट्र र संवैधानिक राजतन्त्र लगायतका मुद्दा लिएर सदन र सडकमा आवाज उठाउँदै आएको राप्रपा अध्यक्षले पछिल्लो राजनीतिक घटना क्रमले आफुहरुको आन्दोलनको अनुकुल वातावरण बनेको जिकिर गरेका छन्।

अहिलेको व्यवस्था रहेसम्म सुशासनका साथै बिकास र समृद्धिको कल्पना पनि गर्न नसकिने दाबी गर्दै उनले अहिलेको समस्या व्यक्ति र नेतृत्वमा नभइ व्यवस्थामा नै भएकाले व्यक्तिपरिवर्तन गौर्ण भएको पुष्टि भएको दाबी गरे।

अहिले जनतालाई राप्रपाले उठाएको मुद्दा सहि रहेछ भन्ने कुरा गणतन्त्र, धर्मनिरपेक्षता र संघीयता पक्षधरले नै प्रमाणीत गरिदिएको दाबी उनको छ।

 

प्रकाशित मिति: बुधबार, फागुन २३, २०८०  १४:०३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update