हिमाल दैनिक
सभामुख घिमिरेद्वारा दलका प्रतिनिधिहरुसँग परामर्श, एमाले संसद पुनस्र्थापनाको पक्षमा

विघटित प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले देशको राजनीतिक घटनाकाक्रममा बिषयमा राजनीतिक दलहरुसंग छलफल गरेका छन्।

बुधबार सिंहदरबारमा सभामुख घिमिरेले अन्तरिम सरकार गठन र प्रतिनिधि सभा बिघटनका बिषयमा दलहरुसंग छलफल गरेका हुन्।

छलफलका क्रममा एमालेले संसद पुनस्र्थापनामा जोड दिएको छ भने अन्य दलहरुले सरकारले निर्वाचनको वातावरण बनाए आफुहरु निर्वाचनमा जान तयार रहेको धारणा राखेका थिए। 

छलफलपछि कांग्रेस नेता श्याम घिमिरेले प्रतिनिधि सभा विघटन असंवैधनिक रहेपनि अबको निकास संसद पुनस्र्थापना वा निर्वाचन नै भएको बताए।

सरकारले निर्वाचनको उचित वातावरण बनाए कांग्रेस निर्वाचनबाट नभाग्ने उनको भनाई थियो।

त्यस्तै एमाले नेता महेश बर्तौलाले प्रतिनिधि सभा विघटन गर्ने कार्य असंवैधानिक भएकाले संवैधानिक मार्गबाटै निकास निकाल्नुपर्नेमा जोड दिए।

उनले वर्तमान सरकारले निर्वाचनका लागि कुनै तयारी नै नगरेकाले संसद् पुनस्र्थापना हुनुपर्ने एमालेको स्पष्ट धारणा रहेको बताए।

त्यस्तै राप्रपा नेता ज्ञानबहादुर्र शाहीले भने संसद पुनस्र्थापना नभई ताजा जनादेशमा जान सबै दलहरु तयार हुनुपर्ने बताए।

शाहीले जेनजीको माग पुरा गन संविधान संशोधनका लागि तयार हुने हो भने मात्रै संसद् पुनस्र्थापना गर्नुपर्ने धारणा राखे।

त्यस्तै माओवादी नेताहरुले अहिलेको अवस्थाको उचित निकास निर्वाचन नै भएको धारणा राखेका थिए भने नेकपा एकीकृत समाजवादीका नेताहरुले सरकारले निर्वाचनको वातावरण बनाउन सक्नुपर्ने उल्लेख गरे।

प्रतिनिधि सभा बिघटनका बिषयमा सभामुख घिमिरेले निरन्तर छलफल गर्ने बताएका छन्।

गत भदौ २३ गतेको नवयुवा (जेन–जी) आन्दोलनका क्रममा भएको सुरक्षा कारबाही लगत्तै भड्किएको हिंसात्मक प्रदर्शनबाट अपदस्त भएको सरकार अन्तरिम सरकार गठन गर्नु अगाडि गरिएको संसदको विघटनको प्रक्रियामाथि संवैधानिक र कानूनी प्रश्न उठाउँदै गैरसंवैधानिक र प्रक्रिया विपरितको कदमविरुद्ध अदालत जाने विषयमा सभामुखले दलहरुसँग परामर्श सुरु गरेका हुन्।

प्रकाशित मिति: बुधबार, असोज २९, २०८२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update