हिमाल दैनिक
राष्ट्रिय सभा अध्यक्षका लागि सत्तापक्षका दाहाल र प्रतिपक्षका शर्माको उम्मेदवारी दर्ता

राष्ट्रिय सभाको अध्यक्ष पदका लागि सत्ता गठबन्धन र विपक्षी दलका तर्फबाट फरक–फरक उम्मेदवारी दर्ता भएको छ।

सोमबार संघीय संसद् भवन नयाँबानेश्वरमा निर्वाचन प्रक्रिया अन्तर्गत सत्ता गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र)का सांसद नारायण दाहालको उम्मेदवारी परेको छ। उता केही दिनअघि मात्रै प्रधानमन्त्री पुष्पकमल दाहालले गठबन्धनमा गरेको हेराफेरिबाट सत्ता बाहिर प्रमुख प्रतिपक्षी दलको रुपमा उभिन पुगेको नेपाली कांग्रेसले सांसद युवराज शर्मालाई अध्यक्ष पदमा अघि सार्दै उम्मेदवारी दर्ता गराएको छ।

तत्कालिन सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनित गर्ने कोटामा परेर राष्ट्रिय सभा सदस्य बन्न पुगेका माओवादी नेता दाहालको प्रस्तावकमा सोही पार्टीका सांसद गोपीबहादुर अछामी र समर्थकमा नेकपा (एमाले)का सांसद देवेन्द्र दाहाल, नेकपा (एकीकृत समाजवादी)का सांसद बेदुराम भुसाल र जनता समाजवादी पार्टी नेपालका सांसद मोहम्मद खालिद रहेका छन्।

त्यस्तै कांग्रेस उम्मेदवार शर्माको प्रस्तावकमा नेपाली कांग्रेसका सांसद आनन्दप्रसाद ढुङ्गाना र समर्थकमा कांग्रेसकै सांसद किरणबाबु श्रेष्ठ र लोकतान्त्रिक समाजवादी पार्टी नेपालका किशोरकुमार सिंह रहेका छन्।

उम्मेदवारी दर्ता गराउदै सत्ता गठबन्धनतर्फका उम्मेदवार दाहालले आफूले दिएको योगदानको अनुसारको जिम्मेवारीका सन्दर्भमा उम्मेदवारी दिएको बताए।

गत माघ ११ गते सम्पन्न राष्ट्रिय सभा सदस्यको निर्वाचनपूर्व तत्कालिन गठबन्धनमा सहभागी दलहरुबीच भएको भद्र सहमति अनुसार, प्रधानमन्त्री दाहालले कांग्रेस सभापति शेरबहादुर देउवासँग राष्ट्रिय सभाको अध्यक्ष पदमा कांग्रेस नेता कृष्णप्रसाद सिटौलालाई बनाउने तयारीका साथ उनलाई कोशी प्रदेशबाट राष्ट्रिय सभा सदस्यमा निर्वाचित गरिएको थियो।

तर, सिटौलाले गठबन्धनभित्रैको असहयोगका बाबजूद झिनो मतले विजयी भएपनि माओवादीकी उम्मेदवार चम्पादेवी कार्की पराजित भएपछि कांग्रेस र माओवादीबीचको राजनीतिक विश्वासमा दरार उत्पन्न भएको थियो।

त्यसपछि विभिन्न बहाना देखाउँदै प्रधानमन्त्री दाहालले एकाएक पुरानो गठबन्धनलाई भत्काएर नेकपा एमालेसहितका दलसँगको सत्ता गठबन्धन बनाएपछि राष्ट्रिय सभा अध्यक्षमा नारायण दाहाललाई अघि सार्न पुगेका थिए। प्रधानमन्त्री दाहालले आफ्नै गृहजिल्ला चितवन र आफ्नै कुल थरका सदस्यका रुपमा परिचित दाहाललाई उम्मेदवार बनाएपछि पार्टीभित्र र बाहिर प्रधानमन्त्री दाहालको निर्णयको चर्को विरोध र आलोचना सुरु भएको छ।

उक्त विरोधका स्वरप्रति लक्षित गर्दै अध्यक्षको प्रत्यासी बनेका दाहालले सामान्यतः प्रदेशको सह–इन्चार्जको जिम्मेवारीमा जाँदासमेत पार्टी अध्यक्ष प्रचण्डसंग जोडेर हेरिने गरेको भन्दै आफुमाथि लागेको आरोप पहिलो नभएको जिकिर गरे।

त्यस्तै कांग्रेस उम्मेदवार शर्माले आफ्नो लामो राजनीतिक यात्रा र भूमिकाका कारण पार्टीले एक ढिक्काका साथ अध्यक्ष पदका लागि उम्मेदवार बनाएको बताए।

उनले आफू अध्यक्षमा निर्वाचित भएमा संसदीय प्रणाली र पदको गरिमा बढाउने ढङ्गबाट कार्यसम्पादन गर्ने पनि बताए।

शर्माले पाँच दशक लामो राजनीतिक यात्रापछि राष्ट्रियसभामा दुई वर्षअघि प्रवेश पाएका थिए। त्यस अनुभवका आधारमा पार्टीले अध्यक्षको उम्मेदवार बनाएको धारणा उनले राखे।

राष्ट्रियसभाको निर्वाचन मंगलबार हुँदैछ। राष्ट्रिय सभामा माओवादी १७ सांसदसहित पहिलो दल रहेको छ। एमाले १०, एकीकृत समाजवादी ८, जसपा ३ र राष्ट्रपतिबाट मनोनित पूर्व एमाले नेता वामदेव गोतमसहित सत्ता गठबन्धनसँग राष्ट्रिय सभामा ३९ सांसद छन्। राष्ट्रिय सभा अध्यक्षमा मनोनीत हुनका लागि ३० जना सांसद भए बहुमत पुग्छ।

त्यस्तै कांग्रेससँग राष्ट्रिय सभामा १६ सांसद छन् भने लोसपाको १ र राष्ट्रिय जनमोर्चाका एक सांसद रहेका छन् जसले अहिलेसम्म कांग्रेस उम्मेदवारलाई मत दिने वा नदिनेबारे कुनै निर्णय गरिसकेका छैेनन्।

 

प्रकाशित मिति: सोमबार, फागुन २८, २०८०  १३:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update