हिमाल दैनिक
राष्ट्रिय सभा अध्यक्षका लागि मंगलबार दाहाल भन्दा पहिले शर्माको उम्मेदवारीमाथि मतदान हुँदै

राष्ट्रिय सभा अध्यक्ष पदका लागि सत्ता गठबन्धन र प्रमुख प्रतिपक्षी दलको तर्फबाट परेका उम्मेदवारहरुको उम्मेदवारीमाथि मंगलबार बस्ने राष्ट्रिय सभाको बैठकमा निर्णय हुने भएको छ।

संसद सचिवालयले सोमबार प्रकाशित गरेको मंगलबारको सम्भावित कार्यसूचि अनुसार, भोलि बिहान ११ः०९ बजे बस्ने बैठकमा अध्यक्षको अनुपस्थितिमा सभाको अध्यक्षता गर्दैआएकी उपाध्यक्ष उर्मिला अर्यालले दुबै प्रस्तावलाई निर्णयार्थ पेश गर्नेछिन्।

सचिवालयले प्रकाशित गरेको उम्मेदवारहरुको अन्तिम नामावलीको दर्ता क्रमका आधारमा भोलिको बैठकको सुरुमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको तर्फबाट अध्यक्षका प्रत्यासी बनेका सांसद युवराज शर्माको नाममाथि पहिले छलफल र मतविभाजनको माध्यमबाट निर्णय हुनेछ।

अर्थात, सभाको अध्यक्षले शर्माको उम्मेदवारी दर्ता फारममा प्रस्तावक रहेका सांसद आनन्दप्रसाद ढुंगानासहित प्रस्ताव पेश गरी संक्षिप्त वक्तव्य दिन समय उपलब्ध गराउनुका साथै उनका समर्थकलाई बोल्न समय दिने छिन्।

त्यसपछि उक्त प्रस्तावमाथि मतविभाजनको माध्यमबाट निर्णय प्रक्रियामा गएपछि यदी शर्माको पक्षमा सदनको बहुमत देखिएमा उनलाई अध्यक्ष पदमा निर्वाचित भएको घोषणा गर्नु पर्दछ।

तर, सदनभित्रको अंकगणितीय आधारमा शर्माको पक्षमा बहुमत सदस्यको समर्थन नरहने बलियो सम्भावना रहेको कारण अध्यक्षले त्यसपछि सत्ता गठबन्धनको तर्फबाट अध्यक्षको प्रत्यासी बनेका नारायण दाहालको नाममाथि छलफल र निर्णय प्रक्रिया सुरु गर्नु पर्नेछ।

जसमा मतविभाजनको माध्यमबाट बहुमत सदस्यको विश्वास प्राप्त भएसँगै अध्यक्षको आसनबाट उपाध्यक्ष अर्यालले उनलाई राष्ट्रिय सभाको अध्यक्ष पदमा निर्वाचित भएको घोषणा गर्नेछिन्।

विगतमा प्रतिनिधि सभादेखि राष्ट्रिय सभासम्मका सभामुख÷उपसभामुख र अध्यक्ष तथा उपाध्यक्षको निर्वाचन गर्दा अधिकांश समयमा बहुमत प्राप्त गर्नसक्ने बलियो सम्भावनासहितका उम्मेदवारले सुरुमै उम्मेदवारी दर्ता गर्ने गर्दथे।

जसको कारण बैठकको अध्यक्षता गरिरहने व्यक्तिले पहिलो चरणमै प्रस्तुत नाम अनुमोदन भएको घोषणा गर्दा अर्को प्रत्यासीको उम्मेदवारीमाथि निर्णय प्रक्रियामा कारबाही अघि बढाउनु पर्दैनथ्यो।

तर, यसपटक भने, दाहाल भन्दा अगाडि शर्माको नाम उम्मेदवारहरुको सूचिमा रहन पुगेपछि राष्ट्रिय सभाको बैठकमा शर्माको उम्मेदवारीमाथिको निर्णय टुंगो लगाएर मात्रै दाहालको उम्मेदवारीमाथि निर्णय हुनेछ।

 

प्रकाशित मिति: सोमबार, फागुन २८, २०८०  १५:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update