हिमाल दैनिक
‘भित्ते राष्ट्रपति’ दाहालले सिटौलालाई पनि ‘भित्ते अध्यक्ष’ नै बनाइदिएपछि...

 

दोस्रो जनआन्दोलन लगत्तै शान्ति प्रक्रियामार्फत संविधान सभा सदस्यको निर्वाचनमा सहभागी हुन पुगेको तत्कालिन नेकपा माओवादीले त्यतिबेला देशभरी नै एउटा नारा लगाएको थियोः माओवादीलाई भोट दिउँ, प्रचण्डलाई भावी राष्ट्रपति बनाउँ।

माओवादीले आफ्नो पार्टी अध्यक्ष पुष्पकमल दाहाल उर्फ प्रचण्डलाई भावी राष्ट्रपति भन्दै गरेको प्रचारवाजीका बाबजूद पहिलो संविधान सभामा ठूलो दलको नेताका हैसियतले देशको प्रधानमन्त्री पदमा नियुक्त भएपछि कतिपय माओवादी विरोधीहरुले दाहाललाई ‘भित्ते राष्ट्रपति’को उपनाम दिन समेत पछि परेका थिएनन्।

गत आम निर्वाचनपूर्व नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पनि चुनाव प्रचारका क्रममा आफ्नो सचिवालयमार्फत सामाजिक सञ्जालमा सशक्त अभियान नै चलाएका थिए। जसमध्यै प्रोजेक्ट गभर्नमेन्टको नाममा गगनलाई ‘भावी प्रधानमन्त्री’, ‘मिसन पिएम’ ‘जेनजी’ अर्थात (जेनरेशन गगन) आदि अभियानले सामाजिक सञ्जाल भरिएको थियो।

सोही अभियानका माध्यमबाट महामन्त्री थापा काठमाडौैं निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभा सदस्यमा मात्र निर्वाचित भएनन्, पार्टीभित्रको अल्पमत पक्षका सांसदहरुको संख्या न्यून छ भन्ने थाहा हुँदाहुँदै पनि मतदातासामू भावी प्रधानमन्त्रीका रुपमा आफूलाई प्रस्तुत गरेर पाएको मतका खाँतिर पनि पार्टी संसदीय दलको नेताका लागि सभापति शेरबहादुर देउवाविरुद्ध उम्मेदवारी दर्ता गरे।

अन्ततः देउवासँग झण्डै दुई गुणा बढी मतको अन्तरले पराजित पनि भए।

पछिल्लो समयमा वर्तमान सरकारका प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र कांग्रेस सभापति देउवाबीच आन्तरिक सहमति कायम गराएर कांग्रेस नेता कृष्णप्रसाद सिटौला राष्ट्रिय सभा सदस्यका लागि साझा उम्मेदवार बने।

गत आम निर्वाचनमा झापा निर्वाचन क्षेत्र नम्बर ३ मा नेकपा एमालेसहितको गठबन्धनबाट उम्मेदवार बनेका राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनसँग दोस्रो पटक लगातार पराजित हुन पुगेका सिटौला एक वर्षपछि पुनः राष्ट्रिय सभा सदस्यको निर्वाचनमा उम्मेदवारी बन्नुको मुख्य कारण राष्ट्रिय सभामा रिक्त हुँदैगरेको अध्यक्ष पद ताकेरै अघि सरेका थिए।

प्रत्यक्ष निर्वाचनमा पराजित भएको व्यक्ति एक वर्ष नपुग्दै पुनः राष्ट्रिय सभा सदस्यको निर्वाचनमा पनि उम्मेदवार बन्ने कि नबन्ने विषयमा कांग्रेसभित्र र बाहिर ठूलो विवाद भएको थियो। यसरी उठेका विरोध र आलोचनाका स्वरहरुलाई प्रतिरक्षा गर्न सभापति देउवादेखि स्वयं सिटौलाले मात्र होइन, माओवादी अध्यक्ष दाहाल लगायतका नेताहरुले पनि राष्ट्रिय राजनीतिमा सिटौलाको भूमिका महत्वपूर्ण रहने भन्दै बचाउ पनि गरे।

सोही कारण लगभग पराजयको खतरनाक संघारबाट सिटौला त जेनतेन उम्किए। राष्ट्रिय सभा सदस्यमा निर्वाचित पनि भए। तर, दाहाल र देउवाबीच विगतमा भएको भनिएको भद्र सहमति गठबन्धनमा रहेका दलहरुको अदलाबदलीसँगै हावा खायो। राष्ट्रिय सभा अध्यक्षको रुपमा राज्यका प्रमुख निकायमध्ये एक संवैधानिक अंगको प्रमुख बन्ने सिटौलाको सपना अधुरै रहन पुग्यो।

विशेषगरी नेकपा माओवादी केन्द्रका अध्यक्ष दाहालले संवैधानिक परिषदमा आफ्नो दलको तर्फबाट कुनै सदस्य नरहेको परिस्थ्तििसँगै आफ्नो परिवार निकट मानिएका नारायण दाहालको स्थान सुरक्षित गर्ने रणनीतिक योजना मुताबिक सत्ता गठबन्धनमा काँध फेर्न पुगे। कांग्रेसका मन्त्रीहरुलाई विभिन्न बहानामा सत्ताबाहिर पुर्याउँदै विपक्षी बेञ्चमा रहेर सरकारको चर्को आलोचनामा समय खर्चिँदै आएका नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीलाई सरकारमा सहभागी गराए।

गठबन्धनमा गरेको फेरबदलको बदलामा राष्ट्रिय सभा अध्यक्षमा आफ्नै दलका नेता नारायण दाहाललाई अघि बढाए, जसलाई सम्भवत् मंगलबार बस्ने राष्ट्रिय सभाको बैठकले अनुमोदन पनि गर्ने छ। सिटौलाको अध्यक्ष बन्ने सपनाको संसारलाई चकनाचुर पार्नेछ।

राष्ट्रिय सभा अध्यक्ष बन्ने दावीका साथ माघ ११ मा कोशी प्रदेशबाट कांग्रेससहितको गठबन्धनको साझा उम्मेदवार बन्दै राष्ट्रिय सभा सदस्य बनेका सिटौला निर्वाचनपछि भने राष्ट्रिय सभाको अध्यक्ष त के त्यसको सम्भावित उम्मेदवार समेत बन्न तयार भएनन् अथवा सकेनन्।

माओवादी नेतृत्वको सत्ता गठबन्धनबाट माओवादीले नै उम्मेदवारी दिएर परिणाम पनि आफ्नै पोल्टामा पार्ने पक्कापक्की भएपछि सिटौलाले एकाएक सभापति देउवाको निगाहमा राष्ट्रिय सभामा कांग्रेस संसदीय दलको नेता बन्न पुगे।

त्यस लगत्तै आइतबार बिहान मात्रै महामन्त्री थापा र संसदीय दलका प्रमुख सचेतक रमेश लेखकलाई साथ लिएर प्रधानमन्त्री दाहाललाई प्रधानमन्त्री निवास बालुवाटारमा भेट्न पुगेका सिटौलाले छुब्द हुँदै आफू र आफ्नो दललाई दाहालले धोका दिएको आरोप लगाए। त्यतिमात्रै होइन, आफूलाई दाहालले दिएको धोका आगामी दिनमा महंगो पर्ने धम्कीपूर्ण अभिव्यक्ति दिएर बाहिरिए।

गठबन्धनमा आएको बदलाबका बाबजूद आइतबार बसेको कांग्रेसका शीर्ष नेताहरुबीचको छलफल र बैठकमा कतिपय कांग्रेसका नेताहरुले राष्ट्रिय सभा अध्यक्षको प्रत्यासीका रुपमा सिटौलालाई नै अघि सार्नु पर्ने आवाज आएको थियो।

कांग्रेसका एक नेताले भने, ‘राष्ट्रिय सभा अध्यक्षको दाबी गर्दै सदस्य बनिसकेपछि अब या त सिटौलाजीले उक्त पदमा उम्मेदवारी दिनु पर्छ, होइन भने उहाँ जस्तो राष्ट्रियस्तरको नेताले सांसद पदमा मात्रै बसिरहेर भत्ता पचाउने भन्दा नैतिकताका आधारमा सांसद पद छाड्नु पर्छ।’

त्यसका बाबजूद पनि कांग्रेसले सिटौलालाई अध्यक्षको उम्मेदवार बनाएन। पराजित हुने पक्कापक्की रहेको स्थितिमा मुस्किलले सांसद बन्ने अवसर पाएका बाँकेका पुराना कांग्रेस नेता युवराज शर्मालाई उम्मेदवार बनायो। अर्थात जितको सुनिश्चितता हुँने स्थितिमा सिटौलालाई र पराजित हुने अवस्थामा शर्मालाई अघि सार्न पुग्यो।   

 

प्रकाशित मिति: सोमबार, फागुन २८, २०८०  १६:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update