हिमाल दैनिक
कांग्रेसका उम्मेदवार युवराज शर्मालाई राष्ट्रिय सभा अध्यक्ष बनाउने प्रस्ताव अस्विकृत

नेपाली कांग्रेसका सांसद युवराज शर्मालाई राष्ट्रिय सभाको अध्यक्ष पदमा निर्वाचित गरियोस् भन्ने प्रस्तावि अस्विकृत भएको छ।

नेकपा एमालेका सांसद एवं निर्वतमान अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको ६ वर्षे कार्यकाल समाप्त भएसँगै रिक्त रहेको अध्यक्ष पदका लागि सोमबार परेको उम्मेदवारी दर्ताका क्रममा पहिलो क्रममा परेको शर्माको पक्षमा मंगलबार भएको मत विभाजनमा सदनमा रहेका सदस्यहरुको बहुमत पुग्न नसकेपछि उनी अध्यक्ष पदमा निर्वाचित हुन विफल भए।

आजको राष्ट्रिय सभाको आजको बैठकमा कांग्रेस नेता आनन्दप्रसाद ढुंगानाले शर्मालाई अध्यक्ष पदका लागि निर्वाचित गरियोस् भनि राखेको प्रस्तावको पक्षमा कांग्रेसका १६ सांसदसहित लोकतान्त्रिक समाजवादी पार्टीका एक सदस्यले मात्रै मत दिएपछि उनको नाम सदनले अस्विकृत गरेको हो।

बैठकको अध्यक्षता गरिरहेकी राष्ट्रिय सभाकी उपाध्यक्ष उर्मिला अर्यालले आजको बैठकमा उपस्थित ५६ सांसदमध्ये शर्माको पक्षमा १७ र विपक्षमा ३९ मत परेको जानकारी दिँदै सदनले शर्मालाई अध्यक्ष पदमा निर्वाचित गरियोस भन्ने प्रस्ताव अस्विकृत गरेको घोषणा गरिन्।

त्यस लगत्तै सत्ता गठबन्धनको तर्फबाट नेकपा माओवादीका नेता नारायण दाहालको उम्मेदवारी उपर मतविभाजनको माध्यमबाट निर्णय प्रक्रिया अघि बढेको छ।

पुरानो सत्ता गठबन्धनको सहयात्री नेपाली कांग्रेसका मन्त्रीहरुलाई प्रधानमन्त्री पुष्पकमल दाहालले फागुन २१ गते नेकपा एमाले लगायतका दलसँग सहमति गरी हटाएपछि संघीय संसददेखि प्रदेश तहसम्मै नयाँ सत्ता गठबन्धनको निर्माण भएको छ।

सोही गठबन्धनको साथ र समर्थनमा दाहाललाई माओवादीले उम्मेदवार बनाएपछि आजै उनी सदनको बहुमतले आगामी ४ वर्ष कार्यकालका लागि अध्यक्ष पदमा निर्वाचित हुँदैछन्।

 

प्रकाशित मिति: मंगलबार, फागुन २९, २०८०  १३:२८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update