हिमाल दैनिक
राष्ट्रिय सभा अध्यक्षमा माओवादीका नारायण दाहाल निर्वाचित

नेकपा माओवादी केन्द्रका नेता नारायणप्रसाद दाहाल राष्ट्रिय सभाको नयाँ अध्यक्षमा निर्वाचित भएका छन्।

मंगलबार बसेको राष्ट्रिय सभाको बहुमत संख्याले सत्ता गठबन्धनको साथ र समर्थनमा सभाको अध्यक्ष पदमा निर्वाचित गरियोस् भनि राखिएको प्रस्ताव बहुमतले अनुमोदन गरेपछि उनी सभाको अध्यक्ष पदमा निर्वाचित भएको घोषणा गरिएको थियो।

बैठकको अध्यक्षता गरिरहेकी उपाध्यक्ष उर्मिला अर्यालले आजको बैठकमा उपस्थित ५६ सांसदमध्ये दाहालको पक्षमा सत्ता गठबन्धनका ३९ सांसदहरुले मत दिएको भन्दै उक्त संख्या राष्ट्रिय सभामा कायम रहेको सम्पूर्ण सदस्य संख्याको बहुमत रहेको भन्दै उनलाई अध्यक्ष पदमा निर्वाचित भएको घोषणा गरिन्।

दाहालको विपक्षमा कांग्रेसका १६ र लोकतान्त्रिक समाजवादी पार्टीका एक गरी जम्मा १७ मत परेको थियो।
संविधानको व्यवस्था बमोजिम फागुन २० गते सदनका एक तिहाई सदस्यहरु आफ्नो ६ वर्षे कार्यकाल समाप्त गरी विदा भएपछि रिक्त रहेका पदमा गत माग ११ गते निर्वाचन सम्पन्न भएको थियो।

उक्त निर्वाचनमा तत्कालिन सत्ता गठबन्धनमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रसहितका दलहरुको सत्ता गठबन्धनले निर्वाचन भएका १९ सिटमध्ये १८ सिटमा विजयी हाँसिल गरेको थियो।

कोशी प्रदेशमा भने गठबन्धनकै दलहरुबीच अन्तरघात हुँदा नेकपा माओवादी उम्मेदवारलाई नेकपा एमालेकी उम्मेदवार रुक्मिणी कोइरालाले पराजित गरेपछि पुरानो गठबन्धनभित्र दरार पैदा भएको थियो।

सोही दरारका अतिरिक्त कांग्रेसको फागुन ७ देखि १० गतेसम्म चलेको महासमिति बैठकमा उपसभापति पूर्णबहादुर खड्का र महामन्त्री गगनकुमार थापाले प्रस्तुत गरेका विषयवस्तुप्रति आपत्ति प्रकट गर्दै प्रधानमन्त्री दाहालले गठबन्धनमा काँध फेर्न पुगेका थिए।

कांग्रेसलाई सत्ता बाहिर राख्दै नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीलाई सत्ता गठबन्धनमा सहभागी गराएका दाहालले राष्ट्रिय सभा अध्यक्ष पदमा आफ्नै गृहजिल्लाका नजिकैको नातेदार दाहाललाई अध्यक्षको प्रत्यासी बनाएका थिए।

माघ ११ गतेको निर्वाचनपूर्व कांग्रेस नेता कृष्णप्रसाद सिटौलालाई अध्यक्ष बनाउने सहमति गरेका दाहालले एकाएक गठबन्धन बदलेपछि कांग्रेसले सिटौलाको सट्टा युवराज शर्मालाई उम्मेदवार बनाएको थियो।

तर, शर्माको पक्षमा आवश्यक बहुमत नजुटेपछि राष्ट्रिय सभाको बैठकमा अध्यक्षता गरिरहेकी उपाध्यक्ष अर्यालले दााहालको नाम निणर्याथ पेश गरेकी थिइन्।

जसलाई सदनको बहुमतले अनुमोदन गरेपछि उनी राष्ट्रिय सभाको अध्यक्षमा निर्वाचित भएका छन्।
दाहाललाई दुई वर्षअघि सरकारको सिफारिसमा राष्ट्रपतिले राष्ट्रिय सभा सदस्यमा मनोनित गरिएको थियो। उनी अब आफ्नो ४ वर्षे कार्यकालका लागि अध्यक्ष भएका छन्।

प्रकाशित मिति: मंगलबार, फागुन २९, २०८०  १३:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update