हिमाल दैनिक
गठबन्धनमा नेपालको प्रवेशसँगै हरायो २१ गतेको ८ बुँदे सहमतिबाट एउटा बुँदा...

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वमा रहेको सत्ता गठबन्धनमा सहभागी पाँच राजनीतिक दलका शीर्ष नेताहरुबीच ७ बुँदे सहमति भएको छ।

तत्कालिन सत्ता साझेदार दल नेपाली कांग्रेसलाई पाखामा फाल्दै माओवादी अध्यक्ष एवं प्रधानमन्त्री दाहालले नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीका अतिरिक्त जनता समाजवादी पार्टी नेपाललाई सत्ता गठबन्धनमा भित्र्याए लगत्तै फागुन २१ गते ८ बुँदे सहमति गरेका थिए।

उक्त सहमतिका बाबजूद गठबन्धनको पक्षमा बहुमत पुग्ने आशंका बढ्दै गएपछि प्रधानमन्त्री दाहालले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई उनको विगत केही वर्षयताको पानी बाराबारको स्थिति अन्त्य गराउँदै नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको निवासमा वार्ताका लागि पुर्याएका थिए।

दाहाल र ओलीले नेपाललाई फकाउँदै पटक पटक वार्ता गरेपछि सरकारमा सहभागी हुन पुगेको एकीकृत समाजवादीका कतिपय नेताहरुले गठबन्धनभित्र लिखित सहमति हुनु पर्ने माग गरेबमोजिम मंगलबार पुनः सत्ता साझेदार ५ दलीय गठबन्धनका शीर्ष नेताहरुले ७ बुँदे सहमति गरेका हुन्।

आज बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको गठबन्धनका शीर्ष नेताहरुबीच भएको सहमतिमा दाहाल नेतृत्वमा रहेको पुनर्गठित सरकारलाई सुदृढ र सफल बनाउने प्रतिबद्धता गर्दै पाँचै दलका नेताहरुले हस्ताक्षर गरेका छन्।

यसरी हस्ताक्षर गर्ने क्रममा फागुन २१ गतेको ८ बुँदे सहमतिको ७औं नम्बरको बुँदा हटाउँदै नयाँ सहमति पत्र तयार भएको छ।

GIczx-BXsAAblb41710232293.jpg

GIczq48XsAAgkgB1710232293.jpg

जसको अन्य बुँदामा खासै परिवर्तन नगरिएको भएपनि दोस्रो नम्बरको बुँदामा भने संशोधन गरिएको छ।

फागुन २१ गतेको चार दलीय सहमति अनुसार, सहमति पत्रको दोस्रो बुँदामा रिक्त रहेको राष्ट्रिय सभा अध्यक्ष पदमा नेकपा माओवादीका उम्मेदवारलाई र उपाध्यक्षमा नेकपा एमालेको उम्मेदवारलाई समर्थन गर्ने भनिएको थियो।

तर, नयाँ गठबन्धनमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष नेपालको प्रवेश पश्चात उक्त सहमतिको बुँदाबाट राष्ट्रिय सभा उपाध्यक्षमा नेकपा एमालेको उम्मेदवारलाई समर्थन गर्ने वाक्यांश हटाइएको छ।

 

प्रकाशित मिति: मंगलबार, फागुन २९, २०८०  १४:११
प्रतिक्रिया दिनुहोस्
Weather Update