हिमाल दैनिक
माधव नेपाललाई १५ महिना प्रधानमन्त्री बनाउने आश्वासन पाएसँगै नेकपा एसले दाहाललाई विश्वासको मत दिदैँ

नेकपा एकीकृत समाजवादी (नेकपा एस)को संसदीय दलको बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिने निर्णय गरेको छ।

बुधबार बसेको नेकपा एसको संसदीय दलको बैठकले १५ महिनापछि आफ्नो पार्टी अध्यक्ष माधवकुमार नेपाललाई अर्को १५ महिनाका लागि प्रधानमन्त्री बनाउने समझदारी प्रधानमन्त्री दाहाल र गठबन्धनको साझेदारी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सहमत भएसँगै प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको हो।

संसदीय दलका प्रमुख सचेतक मेटमणि चौधरीले पार्टी अध्यक्ष नेपाल पनि १५ महिना प्रधानमन्त्री बन्ने सत्ता गठबन्धनमा सहमति भएको खुलासा गरे।

विश्वासको मत दिनुअघि एमाले अध्यक्ष ओली र प्रधानमन्त्री दाहालसँग प्रतिबद्धता मागेको एकीकृत समाजवादीले माधव नेपाल प्रधानमन्त्री बन्ने ग्यारेन्टी खोजेको थियो। सोही अनुसार मुख्य नेताहरुबीच १५÷१५ महिना प्रधानमन्त्री बन्ने समझदारी बनेको भन्दै चौधरीले अब १५ महिना प्रचण्ड प्रधानमन्त्री रहने र त्यसपछि १५ महिना माधव नेपाल प्रधानमन्त्री बन्ने र त्यसपछि चुनावी सरकारको नेतृत्व केपी शर्मा ओलीले गर्ने समझदारी भएको उनले बताए।

उनले सत्ता गठबन्धनमा भएको सहमती कार्यान्वयन गर्न आफूहरु इच्छुक रहेकाले सो सहमती कार्यान्वयन हुने विश्वासका साथ प्रधानमन्त्रीलाई विश्वासको मत दिने निर्णय गरेको भन्दै सो सहमती कार्यान्वयन नभएमा फरक तरिकाले अधि बढ्ने उल्लेख गरे।

प्रधानमन्त्री दाहालले अहिले प्रतिनिधि सभामा विश्वासको मत लिने प्रस्ताव पेश गर्दै छलफलको क्रममा अघि बढिरहेको छ।

 

प्रकाशित मिति: बुधबार, फागुन ३०, २०८०  १२:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update