हिमाल दैनिक
सूर्यदर्शन सहकारीको ऋणबारे रविले ढाँटे कि, ऋण फरछ्यौट भइसक्यो भन्ने प्रधानमन्त्री दाहालले?

पोखराको सूर्यदर्शन सहकारीबाट अवैधानिक रुपमा करोडौँ रुपैयाँ ऋण लिएर भुक्तानी नगरेको भन्दै पीडितहरुले हारगुहार गरेपछि माघको पहिलो साता पार्टी कार्यालयमा पत्रकार सम्मेलन गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले आफूले उक्त सहकारीबाट कुनै रकम नलिएको सार्वजनिक अभिव्यक्ति दिएका थिए।

तर, पोखरा महानगरपालिकाले गरेको अध्ययनले उक्त सहकारीका १९ हजार लगानीकर्ताको १ अर्ब ३५ करोड भन्दा बढी रकम सयौँ सहकारी ठगहरुले नक्कली खाता खोल्दै हिनामिना गरेको र उक्त नक्कली खाता खोल्नेहरुको सूचिमा लामिछानेको नाम समेत रहेको नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले गरेका छन्।

सहकारीको रकम हिनामिना गरेको आरोप लागेका लामिछानेलाई प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारको उपप्रधानमन्त्री तथा गृहमन्त्री पदमा नियुक्ति गरेर सहकारी ठगी प्रकरणको अनुसन्धानलाई प्रभावित गर्ने कोशिश भएको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सदनमा प्रधानमन्त्री दाहालको जवाफ माग गरेपछि मंगलबार रवि लामिछानेको प्रतिरक्षमा दाहाल उत्रिए।

प्रधानमन्त्री दाहालले प्रतिनिधि सभाको मंगलबारका बैठकमा सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिने क्रमको सुरुवातमै उनले सहकारी प्रकरणमा रवि लामिछानेलाई जोडेर अनावश्यक राजनीतिकरण गर्न खोजिएको आरोप लगाए।

उनले सहकारी प्रकरणको विषयमा अनुसन्धान गर्दा आफूले लामिछाने दोषी नदेखिएको भन्दै यस बिषयलाई अनावश्यक रुपमा राजनीतिकरण गर्न खोजिएको मात्र बताएनन्, लामिछाने स्वयंले गरेको दाबीलाई समेत खण्डित गर्दै थप विवादको श्रजना गरे।

दाहालले हालसम्मको अनुसन्धानले लामिछाने सहकारीको सञ्चालक समिति, लेखा समिति, ऋण समिति, कर्मचारी लगायत कुनै पनि जिम्मेवारी र भूमिकामा नरहेको र अदालतमा विचाराधीन मुद्दामा कहीकतै उनको नाम नजोडिएको दाबी गरे।

माघ पहिलो साता आफ्नो विषयमा उठेको विवादबारे लामिछानेले सूर्यदर्शन सहकारीको रकम ठगी प्रकरणमा आफू संलग्न नै नभएको भन्दै उक्त सहकारीबाट आफूले कुनै रकम नलिएको जवाफ दिएका थिए।

तर, प्रधानमन्त्री दाहालले मंगलबारको बैठकमा बोल्दै लामिछानेको बचाउ गर्ने क्रममा थप्दै सहकारीबाट प्रवाह भएको भनिएको ऋण फरछ्यौट भइसकेको समेत देखिन आएकोले लामिछानेको हकमा अनुसन्धान गर्नुनपर्ने प्रहरीको निष्कर्ष रहेको दाबी गरे।

जुन, स्वयं लामिछानेले दिएको स्पष्टिकरणमा व्यक्त अभिव्यक्ति अनुसार उक्त सहकारीबाट रकम नै नलिएको भन्ने भनाइ विपरित छ। अर्थात, यदि लामिछानेले दाबी गरेबमोजिम सूर्यदर्शन सहकारीबाट आफूले कुनै रकम नलिएको सत्य हो भने, प्रधानमन्त्री दाहालले आज बचाउका क्रममा संसदमा झुट बोले। होइन, प्रधानमन्त्री दाहालले स्पष्टिकरणका क्रमा भनेबमोजिम लामिछानेले लिएको रकम अर्थात ऋण फरछ्यौट गरिसकेको भनाई सही भने लामिछानेले सहकारी ऐनको दफा ५० विपरित रकम लिएर सार्वजनिक रुपमा जनतालाई ढाँट्ने काम गरेका मात्र होइनन्, उनी उक्त ऐनको व्यवस्था बमोजिम सजायको भागिदार छन्।

 

प्रकाशित मिति: मंगलबार, चैत ६, २०८०  १४:३०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update