हिमाल दैनिक
छानविन समिति बनाउन सरकार तयार नभएपछि कांग्रेसद्वारा संसद बैठक अवरुद्ध
file photo

सहकारीको रकम हिनामिना र ठगी प्रकरणमा संसदीय छानविन समिति गठन गर्नुपर्ने माग राख्दै आएको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको आवाजप्रति सत्तापक्षले वेवास्ता गरेपछि संसदको कारबाही प्रभावित भएको छ।

सभामुख देवराज घिमिरेले मंगलबारको प्रतिनिधि सभा बैठक करिब एक घण्टा ढिलागरी सुरुगरेपनि बैठकको सुरुमै कांग्रेस सांसदहरु उठेर विरोध जनाए। प्रमुख प्रतिपक्षी दलका सांसदहरु उभिएर विरोध जनाइरहेकै बेला राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरु पनि उभिएर विरोध जनाएपछि सभामुख घिमिरेले दुबै तर्फका सांसदहरु उभिएको भन्दै सुरुमा कांग्रेस सचेतक सुशीला थिङलाई बोल्न समय दिए।

सो क्रममा कांग्रेसकी सचेतक सुशीला थिङले प्रतिपक्षी दलले उठाएको गम्भीर विषय सम्बोधन नगरेर गलाउने रणनीति सरकार र सत्तापक्षले लिएको भन्दै सदनको कामकारवाही अघि बढ्न नसक्ने चेतावनी दिइन्।

मंगलबार बिहान मात्रै संसदीय दलको बैठक राखेर लाखौँ सहकारी पीडितको रकम हिनामिना गरेको आरोप लागेका रास्वपा अध्यक्ष एवं सरकारका उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछाने र उनले विगतमा संचालन गरेको गोरखा मिडिया प्रा.लि. अन्तरगतको ग्यालेक्सी टिभिले करिब एक अर्ब रुपैयाँ हिनामिना गरेको भन्दै यसबारे तत्काल संसदीय छानविन समिति गठन गरी सत्यतथ्य बाहिर ल्याउनु पर्ने माग गरेको थियो।

सोही निर्णयको जानकारी गराउँदै सचेतक थिङले गृहमन्त्री भएकै कारण रवि लामिछानेमाथि अनुसन्धान नभएको र छानविन समिति गठन गर्न सत्तापक्ष तयार नभएको आरोप लगाइन्।

यदि यस्तै घटनामा अरु कुनै व्यक्ति संलग्न भएको भए कानूनी कारबाहीको दायरामा परिसक्ने अवस्था भएपनि सरकारको गृहमन्त्री लामिछानेलाई उन्मुक्ति दिन सरकार छानविन समिति गठनमा तयार नभएको भन्दै यत्ति गम्भीर विषयमा पनि सरकारले वेवास्ता गर्ने हो भने संसद र संसदीय कारबाही अवरुद्ध हुन जाने र यसको जिम्मेवारी सरकारले नै लिनु पर्ने चेतावनी पनि दिइन्।

थिङले धारणा राखेपछि सभामुख देवराज घिमिरेले रास्वपा सांसद मनिष झालाई बोल्न समय दिए।

तर, कांग्रेस सांसदहरुले विरोध जनाएर उभिँदै टेबुल ठोक्दै सदनको कारबाही अवरुद्ध पारे। बैठकमा सभामुख घिमिरेले सहज रुपमा सदनको कामकारवाही अघि बढाउन आग्रह गरेपनि विरोध कायमै रहेपछि बैठक १५ मिनेटका लागि स्थगीत गरे।

सोही क्रममा सत्तारुढ दलका सांसदहरुले पनि देशका जल्दाबल्दा विषयमा सदनमा कुरा राख्न पाउनु पर्ने भन्दै कांग्रेसको अवरोधप्रति विरोध जनाए।

यसरी सदनभित्र सत्ता र प्रतिपक्षी दलका सांसदहरुबीच होहल्लाको दोहोरी चलिरहेपछि सभामुख घिमिरेले सदनको कारबाही नियमित रुपमा अघि बढाउने जानकारी दिँदै १५ मिनेटका लागि पहिलो बैठक स्थगित गरे।

यसअघिको बैठकमा संसदीय छानविन समिति गठनका लागि ध्यानाकर्षण गराएर बैठक सञ्चालन भएपनि मंगलबार भने कांग्रेसले कार्यसूचीमा नै प्रवेश नगरि बैठक अवरोध गरेको हो।

प्रकाशित मिति: मंगलबार, चैत २७, २०८०  १३:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update