हिमाल दैनिक
रविलाई नछोई छानविन समिति गठन गर्ने ओलीको प्रस्तावप्रति कांग्रेसको आपत्ति

सहकारी ठगी प्रकरणमा संलग्न भएको आरोप लागेका राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष एवं उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको प्रतिरक्षामा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली नै मैदान उत्रिएको आरोप कांग्रेसले लगाएको छ।

विगत केही हप्तादेखि पोखराको सूर्यदर्शन, काठमार्डौको स्वर्णलक्ष्मी, चितवनको साहारा, बुटबलको सुप्रिम सहकारी लगायतका आधादर्जन सहकारीबाट गैरकानुनी रुपमा रकम लिएर गोरखा मिडिया प्रा.लि.मार्फत ग्यालेक्सी टिभि संचालन गरेर सहकारीको रकम हिनामिना गरेको आरोप लागेका गृहमन्त्री लामिछानेको विषयलाई गम्भीर रुपमा उठाउँदै सदनभित्र विरोध जनाइरहेको कांग्रेसले संसदीय छानविन समिति गठन नभए आजदेखि सदनको कारबाही अवरुद्ध गर्ने निर्णय गरेको थियो।

सदनको गतिरोध हटाउन सभामुख देवराज घिमिरको आग्रहमा प्रधानमन्त्री पुष्पकमल दाहालले मंगलबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बोलाएको प्रमुख चार दलका शीर्ष नेता तथा प्रमुख सचेतकहरुको बैठकमा सदनको गतिरोध हटाउने उपायको खोजिबारे छलफल गरेका थिए।

उक्त बैठकमा कांग्रेसका महामन्त्री गगनकुमार थापा, राष्ट्रिय सभामा कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद सिटौलाका अतिरिक्त नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल तथा गृहमन्त्री लामिछानेको पनि उपस्थिति रहेको थियो।

छलफलका क्रममा कांग्रेस महामन्त्री थापाले देशका विभिन्न शहरका थुप्रै सहकारीको रकम लामिछाने र उनका पूर्व व्यवसायीक पार्टनर जिबि राई लगायतका व्यक्तिले गैरकानूनी रुपमा ग्यालेक्सी टिभिमा लगानी गरेर सहकारीका बचतकर्ताको रकम हिनामिना गरेको विषयमा तत्काल संसदीय छानविन समिति गठन कांग्रेसको पूर्वसर्त रहेको बताएका थिए।

सत्तापक्षले तत्काल संसदीय छानविन समिति गठन गर्न तयार नभए आजदेखि सदनको कारबाही चल्न नदिने चेतावनी दिएको बैठकमा सहभागी एक नेताले बताए।

सभामुखले सदनको अवरोध कायम राख्न नहुने भन्दै समाधानको उपाय खोज्न आग्रह गरेपछि कांग्रेसका नेताहरुले करिब करिब अन्तिम चरणमा पुग्दै गरेको संसदको हिउँदे अधिवेशन सुचारु गर्ने नै हो भने, दैनिक कार्यसूचिमा गृहमन्त्री लामिछानेको बाहेक अन्य विधेयक पेश गर्ने कार्यसूचि ल्याउन सुझाव दिएका थिए।

कांग्रेसका नेताहरुले सहकारीको अर्बौँ रुपैयाँ लामिछाने र उनका व्यवसायीक साझेदारले डुबाएको विषयमा छानविन गर्ने विषयप्रति प्रधानमन्त्री दाहाल केही लचिलो देखिएपनि सत्तारुढ नेकपा एमाले अध्यक्ष ओली भने संसदीय छानविन समिति गठनको विपक्षमा अडिग रहन पुगे।

बैठकमा सहभागी एक नेताले बैठकमा भएको छलफलबारे जानकारी दिँदै भने, ‘एमाले अध्यक्ष ओलीले पहिलो कुरा त सहकारी ठगी प्रकरणको विषयमा संसदीय छानविन समिति आवश्यक छैन भनि अडानै लिनु भयो। यदि संसदीय समिति गठन नै गर्ने हो भने पनि आजको संसद बैठक चल्न दिएर भोलि मात्रै समिति गठन गरौँ भन्नु भयो। अझ त्यो भन्दा ज्यादा उहाँले त, यदि यसरी समिति नै गठन गर्ने हो भने पनि उक्त समितिले गृहमन्त्री लामिछाने बाहेक अन्यको विषयमा मात्रै छानविन गर्ने गरी समिति गठन गरौँ भन्नु भयो, जुन कुरामा कांग्रेस तयार भएन।’  

आजको बैठक चल्न दिने तर, भोलि संसदीय समिति गठन गरौँ, तर रविबाहेक अरुको विषयमा छानविन गरौँ भनि ओलीले प्रस्ताव गरेपछि बैठडकमा सहभागी कांग्रेसका महामन्त्री गगन थापा लगायतका नेताले गम्भीर आपत्ति प्रकट गरेका थिए।

ओलीले आज र भोलिको बैठक चलाउन सके पर्सीदेखि हिउँदे अधिवेशन अन्त्यगरी त्यसपछिका दिनमा अध्यादेशमार्फत कानुन ल्याउने चालबाजी भएको हुनसक्ने कांग्रेस नेताहरुको बुझाइ छ।

संसदको गतिरोध हटाउने विषयमा प्रधानमन्त्री दाहाल केही लचिलो देखिएपनि ओलीले लिएको अडानप्रति कांग्रेसले थप आशंका व्यक्त गर्न थालेको छ। यसरी समग्र सहकारीहरुको रकम हिनामिनाबारे छानविनका लागि संसदीय समिति गठन गर्दा देशभरीका अधिकांश सहकारीहरुमा एमाले नेता, कार्यकर्ताहरुको बर्चश्व रहेको मात्र होइन, थुप्रै नेताहरु पनि मुछिन सक्ने सम्भावनाका कारण ओली समिति गठनको चर्को विरोधमा उत्रिउको हुन सक्ने कांग्रेसका नेताहरुको दाबी छ।

 

प्रकाशित मिति: मंगलबार, चैत २७, २०८०  १४:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update