हिमाल दैनिक
हिउँदे अधिवेशनको ७० दिनमा २३ बैठकको उपलब्धि ३ विधेयक पारित!

प्रतिनिधि सभाको हिउँदे अधिवेशन सुरुदेखि अन्त्य भएको ७० दिनको अवधिमा जम्मा २३ पटक बैठक बसेर आइतबारदेखि अन्त्य भएको छ।

आइतबार बसेको प्रतिनिधि सभाको बैठकमा संसदको तेश्रो अधिवेशनमा भएका कामकारवाहीका बारेमा जानकारी गराउदै सभामुख देवराज घिमिरेले २०८० साल माघ २२ गते सोमबार प्रारम्भ भई वैशाख २ गते आइतबारसम्म जम्मा ७० दिन चालु भएको अधिवेशनमा २३ पटक बैठक बसेको जानकारी दिए।

देशका विभिन्न शहरमा खुलेका सहकारीमा जम्मा भएको रकम हिनामिना गरेको आरोप लागेका सरकारका उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेको संलग्नताबारे संसदीय छानविन समिति गठनको माग गर्दै पछिल्ला दिनहरुमा सदनमा विरोध जनाउँदै आइरहेको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, राष्ट्रिय प्रजातन्त्र पार्टी लगायतका सांसदहरुले आजको बैठकको सुरुमा उभिएर विरोध जनाए।

तर, सभामुख घिमिरेले संसद अधिवेशन अन्त्यको विषयमा सरकारले गरेको निर्णय बमोजिम राष्ट्रपति कार्यालयबाट पत्र प्राप्त भएको भन्दै आजको बैठकमा कार्यव्यवस्था परामर्श समितिमा भएको सहमति बमोजिम सदनको कारबाही अघि बढ्ने उल्लेख गर्दै सबैलाई बसेर सदनको कारबाही सुचारु गर्न दिन आग्रह गरे।

यसअघिको अधिवेशनमा सरकारले पेश गरेको जम्मा एउटा मात्रै विधेयक पारित गरेकोमा सदनप्रति बढ्दै गएको आलोचनाको प्रतिरक्षार्थ सभामुखले चालु अधिवेशनबाट तीन वटा विधेयक पारित गरेको स्थितिलाई उपब्धिमुलक रहेको भनि व्याख्या गर्न समेत पछि परेनन्।

उनले भने, ‘अघिल्ला अधिवेशको तुलनामा तेस्रो अधिवेशन उपलब्धिपूर्ण भए पनि पर्याप्य भने हुन सकेन। राजनीतिक दलहरूबीचको उच्च समझदारी र विवेकपूर्ण निर्णयका आधारमा आगामी अधिवेशन अझै प्रभावकारी र परिणाममुखी हुने विश्वास लिएको छु।’

यस अधिवेशनमा राष्ट्रिय सभामा उत्पत्ति भएको तीनवटा सरकारी र एउटा गैर सरकारी विधेयक प्रतिनिधि सभामा प्राप्त भएका थिए जसमध्ये “विद्युतीय व्यापार विधेयक, २०८०” माथिको सामान्य छलफल समाप्त भएको छ भने बाँकी तीनवटा विधेयक सभामा प्रस्तुत भैसकेको सभामुख घिमिरेले जानकारी दिए।

त्यस्तै प्रतिनिधिसभाको पहिलो र दोस्रो अधिवेशनमा राष्ट्रिय सभाबाट प्राप्त ८ वटा विधेयकहरु मध्ये “अनुगमन तथा मूल्याङकन विधेयक, २०७६” र “खाद्य स्वच्छता तथा गुणस्तर विधेयक, २०७७” सभाबाट पारित भएको छ भने बाँकी ६ वटा विधेयक सम्बन्धित समितिमा विचाराधीन नै रहेका छन्। तेश्रो अधिवेशनमा कूल ३ वटा विधेयक पारित भएको उनले बताए।

तेश्रो अधिवेशनको अन्तिम बैठकमा सभामुख घिमिरेले कानून निर्माण, जनसरोकारका मुद्दा मुखरित गर्ने लगायतका कार्यमा तुलनात्मकरुपमा अघिल्ला अधिवेशनहरुभन्दा तेस्रो अधिवेशन उपलब्धिपूर्ण रहेको महसुस गरेको बताए।
संसदमा अभिव्यक्त आवाजलाई सही समयमा सम्बोधन र निष्कर्षमा पु¥याउन सके यस गरिमामय संस्थाको महत्व र समयको उचित सदुपयोग हुन सक्ने उनले बताए।

सभामुख घिमिरेले संसदको तेश्रो अधिवेशन अन्त्यसम्बन्धी सूचना पढेर सुनाए।

त्यसअघि बैठक सुरु हुने बितिकै कांग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टीले उठेर विरोध जनाएपछि सभामुखले कार्यसूचीमा रहेका कार्यक्रमहरु हटाउको जानकारी दिएका थिए।

 

प्रकाशित मिति: आइतबार, वैशाख २, २०८१  १३:२२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update