हिमाल दैनिक
नेकपा एसको दक्षिणपन्थी अवसरवादी चरित्र सुदरुपश्चिमबाट उदाङ्गियोः ओली

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले सत्तासाझेदार दल नेकपा एकीकृत समाजवादी (एस) अध्यक्ष माधवकुमार नेपालबीचको सत्रुतापूर्ण गतिविधि र अभिव्यक्तिले सत्ता गठबन्धनभित्र अस्थिरताको विजारोपण भएको छ।

गत फागुनको तेस्रो साता एकाएक नेपाली कांग्रेसलाई सत्ताबाहिर हुत्याएर सरकारमा सहभागी हुन पुगेका एमाले अध्यक्ष ओली र नेकपा एसका अध्यक्ष नेपालबीच नयाँ गठबन्धनमा सहकार्य गर्दै अघि बढ्ने सहमति भएको थियो।

तर, संघीय सरकारदेखि सातै प्रदेशमा सत्ताको बाँडफाँट गर्ने सहमति पनि सुदूरपश्चिम प्रदेशको सरकार गठनको विषयमा सत्ता गठबन्धनका प्रमुख दुई दल एमाले र नेकपा माओवादी केन्द्रले महत्व नदिएपछि सुदूरपश्चिम प्रदेश सभामा रहेका नेकपा एसका सांसदहरुले विपक्षी गठबन्धनलाई साथ दिन पुगेपछि एमाले अध्यक्ष ओलीले नेपालको पार्टीप्रति विष वमन गर्न पुगेका हुन्।

सोमबार संघीय संसद नयाँ वानेश्वरमा बसेको एमाले संसदीय दलको बैठकलाई सम्बोधन गर्दै एमाले अध्यक्ष ओलीले नेकपा एसलाई दक्षिणपन्थी अवसरवादीको अराजनीतिक झुण्ड भएको आरोप लगाए।

सुदुरपश्चिम प्रदेशमा कांग्रेसको समर्थनमा रेशम चौधरी निकट नागरिक उन्मुक्ति पार्टीका सांसदलाई मुख्यमन्त्री बनाउने प्रक्रियामा साथ र समर्थन दिएको नेकपा एसप्रति आक्रोसित बनेका ओलीले भने, ‘कांग्रेस नेतृत्वको गठबन्धनलाई सहयोग गरेर नेकपा एकीकृत समाजवादीको दक्षिणपन्थी अवसरवादीे चरित्र नांगो ढंगबाट प्रकट भएको छ।’

ओलीले सुदुरपश्चिममा वर्तमान सत्ता समिकरणमार्फत नाउपालाई समर्थन नगर्ने र कांग्रेस केन्द्रित समीकरणबाट समथर्न गर्ने समाजवादीको कदम अराजनीतिक प्रवृति भएको  आरोप समेत लगाए।

समाजवादीको कदम विपक्षीहरुको आशा पलाउने र जनतामा केही मात्रामा भएपनि निराशा पलाउने गरि भएको ओलीको दाबी छ।

उनले कम्युनिष्ट साइनबोर्ड राखेर एस नामधारी दलले काम चाहिँ समाजवाद पक्षधरहरुको विपक्षमा गरेको आरोप लगाए।

ओलीले समाजवादीको आधार तयार पारेर समृद्ध नेपाल सुखी नेपालीको नारालाई साकार बनाउदै एमाले ध्यान मिसन ८४ मा केन्द्रीत रहेको धारणा राखे।

अहिलेको अवस्थामा देशमा देखिएको समस्या समाधानका लागि नया समिकरण बनाइएको भन्दै उनले मन्त्रालयको विवादमा फसेर समय खेर फाल्न एमालेले उचित नठानेको जिकिर गरे।

त्यस्तै अध्यक्ष ओलीले बामपन्थीका नामको एकताले सरकार र देश नचल्ने बताउँदै बामपन्थी भनिएका शक्तिहरु वास्तविक रुपमा बामपन्थी हुन नसक्ने भन्दै यस्ता बामपन्थीबाट पार्टी बलियो हुन नसक्ने तर्क समेत गरे।

उनले आवश्यक परेका बेला छानेर बामपन्थी एकता हुने भन्दै पार्टी विगार्ने अवसरको खोजीका लागि र आन्दोलनको हित नहुने गरी कसैलाई अवसर उपलव्ध नगराउने बताए।

अध्यक्ष ओलीले पछिल्लो समय एमालेले चालेको कदमहरु सहि रहेको भन्दै यसलाई सफल बनाउने गरि अघि बढ्न निर्देशन पनि दिए।

 

प्रकाशित मिति: सोमबार, वैशाख ३, २०८१  १४:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update