हिमाल दैनिक
यतापनि उतापनि जोडिने माधवजीको स्वभावबाट सरकारको स्थायित्वमा संकट आउँदैनः प्रम दाहाल

प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सरकारको स्थायित्वबारे कुनै शंका नगर्न आग्रह गरेका छन्।

बिहिवार विराटनगरमा संचारकर्र्मीहरुसंग कुरा गर्दै प्रधानमन्त्री दाहालले सरकारको स्थायित्वबारे उब्जिएको आशंका मेटाउने कोशिश गरेका हुन्।

सत्ता साझेदार दल नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बुधबार प्रमुख विपक्षी दलका नेता एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा लगायतका विपक्षी दलका नेताहरुसँग भेटवार्ता गरेलगत्तै बजारमा फैलिएको सत्ता समिकरणको हल्लालाई चिर्दै यस्तो दावी गरेका हुन्।

विपक्षी दलका नेताहरुसँग नेपालले गरेको भेटवार्ताबाट चिढिएका दाहालले नेपालप्रति कटाक्षपूर्ण भाषामा भने, ‘माधवजी अलि पहिलेदेखि नै उता पनि यता पनि दुबैतिर जोडिने जस्तो देखिएको त थियो। तर, अहिले बिहान मेरो कुराकानी हुँदाखेरि माधवजीले यो समिकरण भन्दा बाहिर छैन, हुँदैन भन्नेकुरा उहाँले क्लियर गर्नु भा छ।’

प्रधानमन्त्री दाहालले कोशी प्रदेशलाई सरकारले बजेट विनियोजन गर्दा कुनै भेदभाव नगरेको भन्दै यसबारे आधारहिन हल्ला चलाउने कोशिश मात्रै भएको दाबी गरे।

विशेषगरी बुधबार जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादीका अध्यक्ष महन्थ ठाकुर र अध्यक्ष नेपालले देउवा निवासमा मधेस प्रदेश सरकारको विषयमा गरेको छलफलका कारण मधेस प्रदेशको सरकारमा अदलाबदली हुने सवालबारे प्रधानमन्त्री दाहालले केन्द्रकै आधारमा मधेस प्रदेशमा पनि अहिलेकै गठबन्धन सरकार रहने दाबी गरे।

उनले वर्तमान गठबन्धन सरकारको स्थायित्वबारे ढुक्क रहन पनि आग्रह गरे।

 

प्रकाशित मिति: बिहीबार, जेठ १७, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update