हिमाल दैनिक
प्रधानमन्त्री दाहाल आफ्नै कमजोरीका कारण संसदमा विलौना गर्दै हुनुहुन्छः केसी

राष्ट्रिय जनमोर्चाका नेता एवं सांसद चित्रबहादुर केसीले प्रधानमन्त्री पुष्पकमल दाहालमा नेतृत्व क्षमताको अभावका कारण संसदमा वैराग्यता र विलौना गर्नु पर्ने स्थिति उत्पन्न भएको बताए।

प्रतिनिधि सभाको आइतबारको शून्य समयमा बोल्दै सांसद केसीले असार ६ गतेको संसदमा सांसदसँग प्रधानमन्त्रीको प्रश्नोत्तरको समयमा आफ्नै मन्त्रिमण्डलका सदस्यहरु समेत अनुपस्थित रहेकोबेला अरु दलका नेताहरु अनुपस्थित रहे भनि सदनमा बिलौना गरेको बताए।

उनले भने, ‘अस्ति प्रधानमन्त्रीले रोष्ट्रमबाट बिलौना गर्नु भो। प्रधानमन्त्रीले संसदमा सम्बोधन गर्दाखेरि आफ्नैै वरिष्ठ मन्त्रीहरु पनि उपस्थिती नहुनु, उहाँले बैराग गर्नु भो। यो कसका कारणले भयो यस्तो?’

प्रधानमन्त्रीले सदनमा सम्बोधन गर्दा सत्ता साझेदार दलकै नेतादेखि आफ्नै मन्त्रिमण्डलका सदस्यहरु पनि अनुपस्थित हुनुले अहिलेको सरकार र यसका जिम्मेवार पदाधिकारीहरु संसद, व्यवस्था र लोकतन्त्रप्रति उदासिन र गैरजिम्मेवार देखिएको आरोप लगाए।

उनले थप्दै भने, ‘संसदप्रति, गणतन्त्रप्रति, लोकतन्त्रप्रति स्वयं आफ्ना सहयोगीहरुले यति उपेक्षा गर्दाखेरि उहाँले त्यी सहयोगीहरुलाई कस्तो शिक्षादिक्षा दिनु हुन्छ? कस्तो कमाण्डिङ गर्नु भएको छ?’

आगामी आर्थिक वर्षको वार्षिक बजेट विनियोजनका क्रममा मन्त्रीहरुले आफ्नो जिल्ला केन्द्रित बजेट लगेर सरकारमा नभएका सांसदहरुको जिल्ला र क्षेत्रका जनतालाई उपेक्षा गरेको विषयमा प्रधानमन्त्री पुष्पकमल दाहालसँग प्रश्न समेत गरे।

उनले भने, ‘आफ्नै मन्त्रिमण्डलका मान्छेले कुनै जिल्लामा दशौँ अरब रुपैयाँ थुपार्दा अन्य जिल्लाका सांसदहरु रित्तो हात आफ्नो निर्वाचन क्षेत्रमा जाँदाखेरि उहाँलाई कस्तो लाग्दो हो?
त्यसकारणले उहाँले जुन कुरा उठाउनु भयो, त्यो कुरा गम्भीर छ।’

 

प्रकाशित मिति: आइतबार, असार ९, २०८१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update