प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रसंघको महासभामा भाग लिन संयुक्त राज्य अमेरिकाको न्यूयोक प्रस्थान गरेका छन्।
प्रधानमन्त्री ओली संयुक्त राज्य अमेरिकाको न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघको मुख्यालयमा भइरहेको राष्ट्रसंघको महासभाको ७९औ अधिवेशनमा भाग लिन शुक्रबार त्यसतर्फ प्रस्थान गरेका हुन्।
अमेरिका प्रस्थान गर्नुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा प्रधानमन्त्री ओलीलाई प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल, उपप्रधानमन्त्रीहरु प्रकाशमान सिंह र विष्णु पौडेल लगाएले विदाई गरेका थिए भने नेपाली सेनाको एक टुकडीले प्रधानमन्त्री ओलीको बिदाइमा सम्मान गारथ प्रदर्शन गरेको थियो।
प्रधानमन्त्री ओलीले असोज १० गते राष्ट्रसङ्घको महासभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।
महासभामा भाग लिन परराष्ट्र मन्त्री आरजु राणा देउवा यसअघि नै क्यानडा पुगिसकेकी छन्। उनी क्यानडामा हुने कार्यक्रममा सहभागी भएर त्यहीबाट अमेरिका स्थित महासभामा भाग लिन न्यूयोर्क पुग्दैछिन्।
महासभाको यस वर्षको साधारण बहस ‘कोही पनि पछाडि नछोडिनेः वर्तमान र भावी पुस्ताका लागि शान्ति, दिगो विकास र मानव मर्यादाको विकासका लागि मिलेर काम गर्ने’ विषय रहेको छ।
प्रधानमन्त्री ओली असोज ८ गते महासभाको साधारण बहसको उद्घाटनसत्र र असोज ९ गते अमेरिकाका राष्ट्रपति जो बाइडेनले आयोजना गर्ने स्वागत समारोहमा सहभागी हुने बताइएको छ।
प्रधानमन्त्री ओली आफ्नो १० दिने अमेरिका भ्रमण सकेर असोज १४ गते स्वदेश फर्कने कार्यक्रम छ ।



