प्रधानमन्त्री केपी शर्मा ओलीले सबै मिलेर मुलुकका विविध कला संस्कृतिको संरक्षण र प्रवद्र्धन गर्नुपर्नेमा जोड दिएका छन्।
बुधबार बालुवाटारमा २१ औँ राष्ट्रिय ज्यापु दिवसका लागि परम्परागत निमन्त्रणा पत्र ग्रहण गर्दै प्रधानमन्त्री ओलीले मौलिक, उन्नत र परिस्कृत तथा इतिहास बोकेको संस्कृतिहरुलाई सवै मिलेर प्रवद्र्धन गर्नुपर्नेमा जोड दिएका हुन्।
नेवारी संस्कृति नेपाली संस्कृतिको पहिचान दिने इतिहास भएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले ज्यापु गुठीका लागि अक्षयकोषमा सक्दो रकमवृद्धि गर्न सरकारले सहयोग गर्ने बचतबद्धता व्यक्त गरे।
सङ्घीय सांसद कृृष्णगोपाल श्रेष्ठ, ज्यापु संस्कृति विकास कोषका अध्यक्ष मङ्गलकृष्ण महर्जनसहित करिब सय जनाको समूहले नेवारी बाजागाजा प्रस्तुत गर्दै सगुन दिएर दिवसको प्रमुख अतिथिका रुपमा प्रधानमन्त्री ओलीलाई निमन्त्रणा गरेको थियो।
यस वर्षको ज्यापु दिवस तथा योमरी पुन्ही यही मङ्सिर ३० गते मनाइनेछ। उक्त दिन काठमाडौँम र्यालीसहित वसन्तपुरमा मुख्य कार्यक्रम बताइएको छ।
Wednesday, Nov 27