
सत्ता गठबन्धनमा सहभागी राजनीतिक दलका शीर्ष नेता तथा सदस्यहरुबिच प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बसिरहेको छ।
सरकारले आगामी आर्थिक वर्षको वार्षिक बजेट प्रस्तुत गर्नुअघि शुक्रबार संघीय संसदमा राष्ट्रपति रामचन्द्र पौडेलद्वारा प्रस्तुत हुने सरकारको नीति तथा कार्यक्रममा समेटिने विषयवस्तुका अतिरिक्त समसामयिक राजनीतिक विषयमा छलफलका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता गठबन्धन दलका नेताहरुलाई बैठकमा बोलाएका हुन्।
उक्त बैठकमा सरकारको नीति तथा कार्यक्रममा सबै दलका नेताहरुको परामर्श बमोजिम के कसरी त्यसलाई अझ जनमुखी बनाउन सकिन्छ भन्नेबारे नेताहरुबीच छलफल चलिरहेको छ।
यसका अतिरिक्त पछिल्लो समय विभिन्न मागहरु राख्दै विगत एक महिनादेखि सडक आन्दोलनमा रहेका सामुदायिक विद्यालयका शिक्षकहरुको माग सम्बोधन तथा आन्दोलनको चरणमा प्रवेश गर्दै गरेका चिकित्सकहरुको मुद्दाबारे पनि सत्तारुढ दलको साझा धारणा बनाएर यी सबै विषयको समाधानको उपायबारे छलफल केन्द्रित रहेको बालुवाटार स्रोतले बतायो।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको बैठकमा ओलीका अतिरिक्त एमाले उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदिप ज्ञावाली र प्रधानमन्त्रीको राजनीतिक सल्लाहकार विष्णु रिमाल, नेपाली कांग्रेसको तर्फबाट सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, गृहमन्त्री रमेश लेखक र परराष्ट्रमन्त्री आरजु राणा देउवा, लोकतान्त्रिक समाजवादी पार्टी नेपालका महन्थ ठाकुर जनता समाजवादी पार्टीका अशोक राई र मन्त्री प्रदिप यादवको सहभागिता रहेको छ।
तर, सत्तारुढ प्रमुख दुई दल नेपाली कांग्रेस र एमालेबिच भएको सहमति बमोजिम सत्ता संचालनमा सहयोगीको भूमिका निर्वाह गर्ने उद्देश्यले गठित दुई दलीय संयन्त्रका सदस्यका रुपमा रहेका कांग्रेस महामन्त्री गगनकुमार थापा भने आजको बैठकमा उपस्थित छैनन्।
सरकारको कामकारबाहीमा सघाउन सक्रियतासाथ विगतमा भूमिका निर्वाह गर्दै आएका महामन्त्री थापा पछिल्लो समय विशेषगरी नेपाल विद्युत प्राधिकरणका तत्कालीन कार्यकारी निर्देशक कुलमान घिसिङको वर्खास्ती पश्चात प्रधानमन्त्री ओलीसँग रुष्ट हुँदै संयन्त्रका बैठकहरुमा अनुपस्थित रहँदै आएका छन्।