हिमाल दैनिक
सरकारको नीति तथा कार्यक्रम संघीय संसदमा आज प्रस्तुत हुँदै
file photo

सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम आज सार्वजनिक हुने भएको छ।

मन्त्रिपरिषदको सिफारिस र संघीय संसदको पूर्वनिर्धारित कार्यसूचि अनुसार, आज अपरान्ह ३ बजे राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने छन्।

यसका लागि सभामुख देवराज घिमिरे र राष्ट्रिय सभा अध्यक्ष नाराणप्रसाद दाहालले संबन्धित सदनका सदस्यहरुलाई आज अपरान्ह हुने संघीय संसदको संयुक्त बैठकमा उपस्थित हुन सूचना दिइसकेका छन्।

जसका लागि सरकारले पनि राष्ट्रपति मार्फत प्रस्तुत हुने सरकारको नीति तथा कार्यक्रमको मस्यौदा तयारीको कार्यलाई अन्तिम रुप दिन मन्त्रिपरिषदको बैठक गर्दैछ। मन्त्रिपरिषदको बेठकले पारित गरेको नीति तथा कार्यक्रम सदनमा पेश भएपछि सोही दस्तावेजको आधारमा सरकारका अर्थमन्त्रीले आगामी जेठ १५ गते आगामी आर्थिक वर्ष ०८२÷०८३ को वार्षिक बजेट प्रस्तुत गर्नेछन्।

जसलाई संघीय संसदका दुबै सदनले चालु आर्थिक वर्षको अन्तिम महिना असारभित्र पारित गरेपछि आगामी साउनदेखि उक्त नीति तथा कार्यक्रमका आधारमा बजेट कार्यान्वयनको प्रक्रिया सुरु हुने छ।

यसअघि सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता साझेदार दलका शीर्ष नेताहरुसँग सरकारको नीति तथा कार्यक्रमको विषयमा छलफल गरेका थिए।

उक्त छलफलका क्रममा सबै दलहरुले पछिल्लो समय मुलुकमा देखिएको आर्थिक संकटबाट मुलुकलाई पार लगाउनेदेखि जनतामा व्याप्त निराशा र असन्तुष्टिलाई सम्बोधन गर्नेगरी सरकारको नीति तथा कार्यक्रम र बजेट ल्याउनु पर्ने सुझाव दिइसकेका छन्।

प्रकाशित मिति: शुक्रबार, वैशाख १९, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update