संघीय संसदमा सबैभन्दा ठूलो दलको रुपमा रहेको सत्तारुढ नेपाली कांग्रेसको संसदीय दलको बैठक शनिबार बस्ने भएको छ।
पूर्वनिर्धारित कार्यक्रम अनुसार, संघीय संसदको संयुक्त बैठकमा शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने तयारी भइरहँदा कांग्रेस संसदीय दलको कार्यालयले आफ्ना दुबै सदनका सदस्यहरुलाई वैशाख २० गते शनिबार अपरान्ह १ बजेका लागि संसद भवन नयाँ वानेश्वरस्थित ल्होत्से हलमा हुने दलको बैठकमा अनिवार्य उपस्थित हुन सूचना जारी गरेको हो।
विगतमा संसदका कुनै पनि अधिवेशन सुरु हुनुअगावै संसदीय दलको बैठक बस्ने र त्यसमा सत्ता वा प्रतिपक्षमा रहँदा आफ्नो भूमिका अनुसार सदनभित्र सबै सदस्यहरुले प्रभावकारी भूमिका निर्वाह गर्न दलको नेतामार्फत सदस्यहरुलाई निर्देशन हुँदै आएको थियो।
तर, वैशाख १२ गतेदेखि सुरु भएको संघीय संसदको बजेट अधिवेशनको अगाडि पार्टी सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवा विदेश भ्रमणमा रहेको कारण दलको बैठक बस्न ढिलाई भएको थियो।
सरकारको प्रमुख हिस्सेदार दल कांग्रेस र यसका कतिपय नेताहरुले सरकारको कामकारबाहीका बारेमा सदनभित्र र बाहिर गम्भीर प्रश्न उठाइरहेका बेला भोलिको संसदीय दलको बैठकमा सदस्यहरुको विचारसँगै सभापति एवं दलका नेता देउवाले दिनसक्ने निर्देशनलाई सबैले चासोको रुपमा हेरिरहेका छन्।
विशेषगरी सरकारले आज अघि सार्ने आफ्नो आगाी वर्षको नीति तथा कार्यक्रममाथि कांग्रेस संसदीय दलका सदस्यहरुको धारणादेखि यसका आधारमा अर्थमन्त्रीले ल्याउन सक्ने आगामी आर्थिक वर्षको बजेटका विषयमा पनि उक्त बैठकमा नीतिगत छलफल हुन सक्नेछ।