हिमाल दैनिक
विद्युत प्राधिकरणको स्वेत–पत्र भन्छः प्राधिकरण ५ अर्ब घाटामा छ, १० अर्ब ऋण नलिई भएन

नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङले गर्दैआएको दाबीलाई गलत सावित गर्दै प्राधिकरण हाल ५ अर्ब २६ करोड नोक्सानीमा रहेको जनाएको छ।

शुक्रबार काठमाडौंमा श्वेत–पत्र सार्वजनिक गर्दै कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले आयकर ऐनको प्रावधान अनुसार थप ह्रासकट्टीको दाबीसहितको नाफा नोक्सान गणना गर्दा हालसम्म कुल ५ अर्ब २६ करोड नोक्सानीमा रहेको जानकारी दिए।

शाक्यका अनुसार, आर्थिक बर्ष २०८०÷०८१ सम्म प्राधिकरणको कुल संचित नाफा करिब ४६ अर्ब ४७ करोड रहेको छ भने चालु आर्थिक बर्षको फागुन मसान्तसम्म नाफा ९ अर्ब ४८ करोड भएको छ। तर आयकर ऐनको प्रावधान अनुसार थप ह्रासकट्टीको दाबीसहितको नाफा नोक्सान गणना गर्दा हालसम्म कुल ५ अर्ब २६ करोड नोक्सानी मै रहेको देखिएको शाक्यले बताए।

उनले हाल प्राधिकरणसँग नगद मौज्दात नभएकाले १० अर्ब रुपैयाँ बराबर अल्पकालीन ऋण लिने प्रक्रिया अगाडि बढाएको जानकारी पनि दिए।

यसअघि शाक्यलाई हटाएर प्राधिकरणको कार्यकारी निर्देशक बन्न सफल भएका पूर्व कार्यकारी निर्देशक घिसिङले आफ्नो कार्यकालमा प्राधिकरणलाई नाफामा लगेको तथ्याङ्क सार्वजनिक गर्दैै मुलुक लोडसेििडङ मुक्त गराएको जस लिन सफल भएका थिए। सोही आधारमा उनलाई सरकारले पदबाट वर्खास्त गरी नयाँ कार्यकारी निर्देशक नियुक्त गर्दा सरकारी निर्णयको चौतर्फी आलोचना र विरोध भएको थियो।

तर, नयाँ कार्यकारी निर्देशक शाक्यले भने घिसिङको दाबीलाई गलत सावित हुनेगरी प्राधिकरण अहिले पनि घाटामै रहेको र नेपाल पूर्णरुपले लोडसेडिङ मुक्त हुन अझै दुई वर्ष लाग्न सक्ने जानकारी पनि बाहिर ल्याएका छन्।

प्राधिकरणमा नेपाल सरकारको शेयर लगानी २ खर्ब ६ अर्ब ७४ करोड, संचित नाफा ४६ अर्ब ४७ करोड र अन्य जगेडा तर्फ ५ अर्ब ८९ करोड गरी जम्मा इक्विटी २ खर्ब ५९ अर्ब १० करोड रहेको शाक्यले बताए।
उनले १४ अर्ब १० करोड बराबरको रकम शोधभर्ना प्राप्त गर्न बाँकी नै रहेको उल्लेख गरे।

त्यस्तै प्राधिकरणले २०८१ अषाढ मसान्तसम्मको डेडिकेटेड फिडर तथा ट्रंकलाइनतर्फको २३ अर्ब ४४ करोडसहित २०८१ फाल्गुनसम्म प्राधिकरणको जम्मा बक्यौता ४४ अर्ब ५४ करोड रहेको जनाएको छ।

२०८१ माघ महिनासम्म प्राधिकरणको कुल ग्राहक संख्या ५५ लाख ८६ हजार ३७ रहेको र आन्तरिक उच्चतम माग २ हजार ३ सय ३७ रहेको जानकारी गराएको छ।

त्यस्तै प्राधिकरणले हालसम्म ११ हजार १ सय ८५ मेगावाट क्षमताको विधुत खरिद सम्झौता सम्पन्न भइसकेको जनाएको छ।

प्रकाशित मिति: शुक्रबार, वैशाख १९, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update