हिमाल दैनिक
केआईआईर्टीमा नेपाली विद्यार्थीको रहस्यमय मृत्युबारे सत्यतथ्य बाहिर ल्याउन सरकारलाई संसदको निर्देशन
file photo

प्रतिनिध सभाका सभामुख देवराज घिमिरेले भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्यूट अफ टेक्नोलोजी (केआईआईटी)मा अध्ययनरत नेपाली विद्यार्थी प्रिशा साहको रहस्यमय मृत्युको घटनाको सत्यतथ्य पत्ता लगाउन सरकारलाई निर्देशन दिएका छन्।

सोमबार बसेको प्रतिनिधि सभा बैठकमा सांसदहरुले उक्त घटनामा सरकारले बिशेष ध्यान दिनुपर्ने धारणा राखेपछि समाभुख घिमिरेले उक्त घटनाप्रति गहिरो चासो लिँदै सत्यतथ्य पत्ता लगाउन लागि भारत सरकारसँग उच्च तहमा कुटनीतिक संवाद अघि बढाउन निर्देशन दिएका हुन्।

उज्यालो भविष्यका सपना बोकेर अध्ययनका लागि विदेशिएका विद्यार्थीहरूको एकपछि अर्को रहस्यमय मृत्युको घटना राष्ट्रको संवेदनशीलता र जिम्मेवारीसँग जोडिएको गम्भीर प्रश्न भएको उनले बताए।

सभामुख घिमिरेले पीडित परिवारलाई आवश्यक न्यायिक सहयोग गर्न समेत सरकारलाई निर्देश दिए।

उनले विदेशमा अध्ययनरत नेपाली विद्यार्थीहरूको सुरक्षा सुनिश्चित गर्न दीर्घकालीन नीतिगत पहलहरू अवलम्बन गर्न पनि अपिल गरे।

त्यसअघि बैठकको आकस्मीक समयमा सांसदहरुले केआईआईटीमा दुई जना नेपाली बिद्यार्थीको रहस्यमय मृत्यु हुँदा पनि सरकारले केहि पहल नगरेको भन्दै आपत्ति जनाएका थिए।

कांग्रेस सांसद रामकृष्ण यादवले कलिंगा इन्स्टिच्यूटमा भएको घटनाको छानविनका गर्दै दोषिमाथि कारवाहीका लागि नेपाल सरकार र भारत सरकारको ध्यानाकर्षण गराए।

त्यस्तै माओवादी सांसद देवेन्द्र पौडेलले कलिंगा इन्स्टिच्यूटमा भएको घटनाले विदेशमा पढ्न जाने विद्यार्थीहरुको सुरक्षामाथि नै प्रश्न खडा भएकाले सरकार गम्भीर हुनुपर्ने धारणा राखे।

निरन्तर नेपाली विद्यार्थीहरु पीडामा परेकाले उक्त घटनाको छानविन गर्न सरकारले पहल गर्नुपर्ने उनले बताए।

त्यस्तै सांसद अमरेशकुमार सिंहले कलिंगा इन्स्टिच्यूटमा दुई छात्राको रहस्यमय मृत्यु हुँदा पनि सरकार मौन रहेको भन्दै आपत्ति जनाउँदै उक्त घटनाको न्यायीक छानविन गर्न माग गरे।

त्यस्तै अन्य सांसदहरुले पनि भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्यूटमा अध्ययनरत नेपाली विद्यार्थी प्रिशा साहको रहस्यमय मृत्युको घटनाको कुटनीतिक तवरबाट छानविन गर्न माग गरेका थिए।

प्रकाशित मिति: सोमबार, वैशाख २२, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update