पछिल्लो समय नेपाली कांग्रेसभित्रैबाट सरकारलाई असफल बनाएर सत्ता समिकरण बदल्ने खेल चलिरहेको भन्ने हल्लालाई निराधार र तथ्यहिन प्रचारबाजी मात्रै भएको स्पष्टिकरण कांग्रेस नेता शेखर कोइरालाले दिएका छन्।
प्रतिनिधि सभाको बैठकमा सहभागी भएर बाहिरिने क्रममा सोमबार कांग्रेस नेता कोइरालाले संचारकर्मीहरुसँग संक्षिप्त प्रतिक्रिया दिँदै सरकारको निरन्तरताका सवालमा मिडियमा चलेको हल्ला जस्तो कांग्रेसभित्र कुनै समस्या नभएको स्पष्टिकरण दिए।
कोइरालाले थप्दै भने, ‘नेपाली कांग्रेसभित्र (हामीभित्र) कुनै पनि त्यस्तो समस्या छैन। त्यो उहाँहरुलाई लागेको हो। कतिपय मिडियाहरुले गलत प्रचार पनि गरिदिन्छन्। मेरै बारेमा पनि कति मिडियाहरुले तपाईको सरकार ढाल्न खोज्यो भन्ने कुराहरु पनि ल्याउनु भएको छ। तर, त्यो चाही होइन।’
पछिल्लो समय पार्टीभित्र अल्पमत पक्षका नेताका रुपमा परिचित कोइरालाले एमालेसँगको सत्ता गठबन्धन भत्काउन लागेकोले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको एमाले–कांग्रेस गठबन्धनको सत्तायात्रा धेरै लामो समय नटिक्ने प्रचारबाजी भइरहेका बेला कोइरालाले यसबारे पनि खण्डन गरे।
उनले भने, ‘यो सरकारलाई असफल हुने छुट छैन। मैले भनेको चाहिने के हो भने, संयन्त्र जुन हामीहरुले बनाएका छौँ,(बाहिर बसेकाहरुको संयन्त्र) त्यो संयन्त्र बनाउन हुँदैन।’
सत्ता संचालनका लागि एमाले र कांग्रेस नेतृत्वबिच भएको सहमति अनुसार, गठन भएको दुई दलीय संयन्त्रको विरोध गर्दै आएका कोइरालाले केन्द्रदेखि पालिकासम्मै संयन्त्र बनाएर जाने कुरा गलत भएको बताए।
उनले भने, ‘डेमोक्रेटिक सिस्टममा जाने भए सरकारभित्रैको संयन्त्र बनाउनुहोस्, बाहिरको संयन्त्र बनाउने होइन, पालिकासम्मै संयन्त्र बनाएर अगाडि जाने जुन नेपाली कांग्रेस र एमालेले निर्णय गरेको छ त्यो गलत हो भनेको हो।’
कोइरालाले सरकार गठनपूर्व कांग्रेस र एमालेबिच भएको सात बुँदे सम्झौताका आधारमा वर्तमान सरकारे बनेको उल्लेख गर्दै उक्त सम्झौतामा रहेका संविधान संशोधन (पुनरावलोक), आर्थिक सुधार, भ्रष्टाचार नियन्त्रण, दण्डहिनताको अन्त्य र सुशासनको प्रत्याभूति दिने सवालमा सरकार चुकेको आरोप लगाए।
उनले यी सवालमा सरकारले गम्भीरतासाथ काम गर्नु जरुरी रहेको पनि बताए।
संविधान संशोधनको विषयमा कांग्रेस र एमालेबिचको सहमतिले मात्रै सम्भव नहुने स्थितिको चर्चा गर्दै उनले थपे, ‘संविधानमा पुनरावलोकन गर्ने कुरामा यो नेपाली कांग्रेस र एमालेको दुई तिहाई बहुमत छ भनेर बनाउने होइन। संविधानमा पुनरावलोकन भनेको सबै दल, संसदभित्र रहेका दलहरुको प्रतिनिधित्व गरिकन र सरोकारवालाहरुको (स्टेकहोल्डर भन्छौँ नि हामी) उनीहरुको पनि राय लिएर अगाडि बढ्न सके हुने हो।’
संविधान संशोधनको प्रक्रियाले समय लिने तर्फ लक्षित गर्दै नेता कोइरालाले संविधान संशोधन अथवा पुनरावलोकन गर्ने कुरा आफैमा समय लाग्ने विषय भएपनि सरकार गठनको ९ महिना बितिसक्दा पनि संशोधनको प्रक्रिया सुरु हुन नसकेकोमा चिन्ता व्यक्त गरे।