नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्र बैंकको गभर्नर नियुक्तिमा भइरहेको ढिलाई प्रधानमन्त्रीका कारण नभएको स्पष्टिकरण दिएका छन्।
नेपाली कांग्रेस आर्थिक नीति तथा योजना विभागद्वारा मंगलबार सानेपामा आयोजित कार्यक्रममा देउवाले प्रधानमन्त्रीका कारण नभइ राष्ट्र बैंकभित्रै देखिएको केही प्राविधिक समस्याका कारण कांग्रेसका तर्फबाट गभर्नर नियुक्तिका लागि नाम सिफारिस गर्न केही ढिलाई भएको बताए।
विगत एक महिनादेखि नेतृतवबिहिन अवस्थामा पुगेको गभर्नर चयनको विषयलाई लिएर सत्ता गठबन्धनभित्र विशेषगरी प्रधानमन्त्री ओलीका कारण झमेला उत्पन्न भइरहेको र त्यसले सरकारको निरन्तरतमा समेत समस्या आउन सक्ने समाचार प्रकाशित भइरहेकाबेला सभापति देउवाले उक्त अड्कलबाजीलाई गलत सावित गर्ने कोशिश गर्दै सरकारको प्रतिरक्षमा उभिए।
प्रधानमन्त्री केपी ओलीले गभर्नर चयनको जिम्मा कांग्रेसलाई दिएको उनले बताए।
सभापति देउवाले अहिले सत्ता गठबन्धनमा कुनै समस्या नभएको समेत स्पष्ट पारे।
अहिलेको प्रणालीमा एउटा पार्टीको मात्रै बहुमत आउने अवस्था नरहेकाले अन्य दलसंग गठबन्धन गर्नुपर्ने अवस्था रहेको उनको भनाई छ।
सभापति देउवाले मुलुकको अर्थतन्त्रमा देखिएको शिथिलता क्रमश कम हुँदै गएको अवस्थामा कांग्रेस सम्मिलित गठबन्धन सरकारले आर्थिक बिकासलाई गति दिनका लागि अझ मेहनत गर्नुपर्ने धारणा राखे।
आगामी बजेटमा धेरै योजना प्रस्ताव गर्ने तर पुरा नहुने स्थीतिको अन्त्य गर्नुपर्नेमा उहाले जोड दिए।
उनले सार्वजनिक सुरक्षाका कार्यक्रमहरुलाई एकीकृत गर्नुपर्ने उल्लेख पनि गरे।
सभापति देउवाले गिरिजाप्रसाद कोइरालाले सुरु गरेको उदारिकरणका कारण धेरै उद्योगधन्दाहरु खुलेको भन्दै गिरिजाप्रसादले सबै उद्योग बेचे भन्ने आरोप सत्य नभएको जिकिर पनि गरे।
उद्योग गर्ने र व्यापार गर्ने काम सरकारको नभइ उद्योगपति र व्यापारिहरुको भएको भन्दै उनले उद्योग र व्यापारको क्षेत्रमा सरकारले निजि क्षेत्रलाई सहजीकरण गर्ने विश्वास व्यक्त गरे।