सरकारको नीति तथा कार्यक्रममाथि प्रतिनिधि सभामा जारी छलफल सकिएको छ।
सरकारले तयार पारेको आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्नुअघि सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले वैशाख १९ गते संघीय संसदको संयुक्त सदनमा प्रस्तुत नीति तथा कार्यक्रममाथि सुरु भएको छलफल आइतबार अपरान्ह सकिएको हो।
सभामुख देवराज घिमिरेले पूर्वनिर्धारित कार्यसूचि अनुसार, आजको बैठकमा केही सदस्यलाई नीति तथा कार्यक्रममाथि छलफलमा भाग लिन दिएपछि अपरान्ह पौने १२ः५० बजे नीति तथा कार्यक्रममाथिको छलफल सकिएको बताए।
त्यसपछि संसदमा सत्ता र प्रतिपक्षी दल लगायतका सदस्यहरुले सरकारको नीति तथा कार्यक्रममाथि राखेका आफ्ना धारणा र प्रश्नहरुबारे जवाफ दिन प्रधानमन्त्री केपी शर्मा ओलीलाई समय दिएका छन्।
प्रधानमन्त्री ओलीले नीति तथा कार्यक्रममाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिएपश्चात आजै सभामुखले उक्त नीति तथा कार्यक्रममाथि निर्णयार्थ प्रस्तुत गर्दैछन्।
यसका लागि सत्तारुढ नेपाली कांग्रेस र नेकपा एमालेका प्रमुख सचेतकहरुले दलको निर्णय बमोजिम आफ्ना सदस्यहरुलाई आजको बैठकमा अनिवार्य उपस्थित भएर सरकारको नीति तथा कार्यक्रमको पक्षमा मतदान गर्न ह्विप जारी गरिसकेका छन्।