हिमाल दैनिक
हाम्रो कामना र आग्रहकै कारण भारत र पाकिस्तानबिचको हातहालको स्थिति युद्धमा परिणत हुन पाएनः प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो कामना र आग्रहकै कारण भारत र पाकिस्तानबिच सुरु भएको हात हालाहालको स्थिति युद्धमा परिणत नभएको दाबी गरेका छन्।

२६४९ औं बुद्धजयन्ती एवं २५६९औं बुद्धसम्वत तथा लुम्विनी दिवसका अवसरमा सोमबार लुम्विनीमा आयोजना गरिएको मूल समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले बुद्धका शान्तिको सन्देशहरुको अर्थ अहिले पनि रहेको र विश्वका लागि महत्वपूर्ण रहेका भन्दै यस्तो दाबी गरेका हुन्।

प्रधानमन्त्री ओलीले केही दिनअघि भारतले आतंकवादविरुद्धको सैनिक कारबाही ‘अपरेशन सिन्दुर’का नाममा पाकिस्तानको सीमावर्ती क्षेत्रमा गरेको सैन्य कारबाहीसँगै प्रतिरक्षका लागि पाकिस्तानबाट भएको प्रतिवादको लडाईको स्थितिमा अमेरिक हस्तक्षेपपश्चात भएको युद्धविरामको प्रसंगमा यस्तो धारणा राखे।

उनले भने, ‘झण्डै झण्डै अहिले भर्खर केही दिन अगाडि मात्रै हाम्रै छिमेकमा झण्डैझण्डै भारत र पाकिस्तानको अलिकति हात हालाहाल त भएको थियो तर, हात हालाहाल बढ्न पाएन। संयमका लागि उनीहरुलाई धन्यवाद छ। हामीले सुरुदेखि भन्यौँ, विस्तार हुन नपाओस् है यो। यो हात हालाहालको स्थिति लडाईमा परिणत हुन नपाओस् भनेर कामना गर्यौँ। उहाँहरुसँग पनि कुरा गर्यौँ, नभन्दै उहाँहरुले लडाईमा जान नदिने प्रतिबद्धता व्यक्त गर्नु भयो।’

ओलीले हात हालाहालको स्थिति लडाइँमा परिणत हुन नपाओस् भन्ने कामना नेपालले गर्दै कुरा समेत गरेको जिकिर गर्दै यस अर्थमा सबै कुराका लागि शान्तिको महत्व रहेको बताए।

उनले अहिले मासड्रिस्टक्सनका हतियारहरुको निर्माण र थुप्रो लगाउने काम भइरहेको र यो मानव र धर्तीको अस्तित्वका लागि बहुत खतरनाक चिज भएको बताए।

यसकारण यस खतरनाक चिजबाट उन्मुक्तिका लागि फेरि पनि विश्व शान्तिको पक्षमा रहनुुपर्ने ओलीको भनाइ छ।

त्यस्तै प्रधानमन्त्री ओलीले लुम्विनी क्षेत्रको विकास, यसको वफरजोनको विकास लगाएतका कुराहरुमा सरकारले बिशेष ध्यान दिने धारणा राखे।

उनले लुम्बिनी बौद्ध विश्वविद्यालयले बुुद्धिजम्को सन्दर्भमा खोज अध्ययन र अनुुसन्धानमा ध्याने दिने विश्वास व्यक्त गरे।

प्रधानमन्त्री ओलीले बृहत लुम्विनी गुुरुयोजनालाई सकेसम्म छिटै पूरा गर्ने सरकारको प्रयास रहेको जानकारी दिए।

 

प्रकाशित मिति: सोमबार, वैशाख २९, २०८२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update