हिमाल दैनिक
सगरमाथा संवाद–२०२५ को तयारी अन्तिम चरणमा

सरकारले सगरमाथा संवाद २०२५ को तयारी अन्तिम चरणमा पुगेको जनाएको छ।

मंगलबार सगरमाथा संवाद २०२५ व्यवस्थापन समितिले काठमाडौंमा पत्रकार सम्मेलन गर्दै जेठ २ देखि ४ गतेसम्म काठमाडौंमा आयोजना हुन लागेको सगरमाथा संवाद २०२५ को तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएको हो।

परराष्ट्रमन्त्री तथा सगरमाथा संवाद २०२५ व्यवस्थापन समिति संयोजक आरजु राणा देउवाले विशिष्ट विदेशी र स्वदेशी पाहुनाहरू सहभागी हुने सम्वादको औपचारिक उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने जानकारी दिइन्।

त्यस्तै कार्यक्रममा संवाद सम्बन्धी तयार पारिएको एक चिनारीयुक्त भिडियो प्रस्तुत गरिने र चीन र भारतका तर्फबाट प्रतिनिधिमण्डलका साथै अजरबैजानी राष्ट्रपतिका जलवायु विषय सम्बन्धी प्रतिनिधिले सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

परराष्ट्रमन्त्री राणाले संवादमा करिब १७५ जना विदेशी पाहुनासहित करिब त्यतिकै संख्यामा नेपाली सहभागीहरू गरी जम्मा करिब ३५० जना सहभागीहरूले भाग लिने जानकारी पनि दिइन्।

जसमध्ये १२ देशबाट उच्च तहबाट प्रतिनिधिमण्डलहरू सहभागी हुने उनले बताइन्।

संवादमा सहभागी हुने विदेशी उच्चस्तरीय पाहुनाहरूले प्रधानमन्त्रीसँग शिष्टाचार भेटघाट लगायत समकक्षी मन्त्रीसँग साइडलाइन भेटवार्ताको व्यवस्था पनि मिलाइएको मन्त्री राणाले बताइन्।

उनले नेपाललाई तटस्थ, संवादप्रेमी कूटनीतिको नेतृत्वदायी भूमिकामा स्थापित गर्न सकिन्छ भन्ने दृढ विश्वास रहेको बताइन्।

विश्वव्यापी मुद्दाहरूमा नेपालको प्रतिबद्धतालाई उजागर गर्दै सहयोग र साझेदारी विकास गरी राष्ट्रिय आत्मविश्वास बढाएर नेपालको विश्वव्यापी छविलाई उचित रूपमा स्थापित गर्न सकिन्छ भन्ने मान्यता राखिएको मन्त्री राणाले जिकिर गरिन्।

 

प्रकाशित मिति: मंगलबार, वैशाख ३०, २०८२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update