हिमाल दैनिक
योग्यता र क्षमताका आधारमा गभर्नरको नियुक्ति गर्ने पक्षमा त छु, तर सरकारमा म एक्लै छैनः प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल राष्ट्र बैकको रिक्त गभर्नरमा योग्यताक्रमका आधारमा क्षमतावान व्यक्तिको नियुक्ति गर्ने पक्षमा आफू रहेको जानकारी दिएका छन्।

बिहीबार काठमाडौंमा पूर्व योजनाकार मञ्च नेपालको औपचारिक शुभारम्भ गर्दै प्रधानमन्त्री ओलीले गभर्नरमा व्यक्तिगत निकटताका आधारमा नभई योग्यताक्रमका आधारमा क्षमतावान व्यक्तिको नियुक्ति गर्ने पक्षमा आफू रहेको बताए।

काम गर्न सक्ने मान्छे भए देशलाई राम्रो हुने भन्दै उनले आफू मेरिटको आधारमा चयन गर्न तयार रहेको पनि बताए।

उनले २०१३ सालमा तत्कालीन प्रधानमन्त्री टंकप्रसाद आचार्यले पनि यहि भावनाबाट प्रेरित भएर नै सार्वजनिक सेवामा मेरिट बेसिसमा छनौट गर्ने प्रणालीका लागि लोक सेवा आयोग जस्तो संस्थाको स्थापना गरेको बताए।

‘आजकल मेरिटोक्रेसी, भन्न हुँदैन भन्नका लागि मेरिटोक्रेसी भन्ने, जाँच लिएझैँ गर्ने, जाँचकी आफ्नै, पेपर काट्ने आफ्नै, इन्टरभ्यू लिने आफ्नै, नतिजा निकाल्ने आफ्नै, कसको नाम निकाल्ने हजुर भनेर सोधरे फलानोको निकाल भनेपछि नतिजा निकाल्दिने आफ्नै अनि मेरिटोक्रेसीका धाक लगाउने?,’ भन्दै प्रधानमन्त्री ओलीले वर्तमान स्थितिको चर्चा गरे।

कार्यकारी प्रमुखको हैसियतमा रहेका प्रधानमन्त्री ओलीले आफ्नो पदीय दायित्व र जिम्मेवारीबोधको स्मरण गरेर हो वा बिर्सिएर यो पद्धती राज्यमा अरु कसैले गरिरहेको जस्तै गरी चर्चा गरे।

उनले थप्दै भने, ‘साँच्चीकै मेरिटोक्रेसी गरौँन। जाँचै लिने भए जाँचै लिउँ, तर फियर्ली जाँच लिउँ।’ आफ्नो नीति यस्तो रहेको सुनाउँदै अगाडि थपे, ‘कति सक्छु कार्यान्वयन गर्न, म एक्लै छैन यस देशमा’ भन्दै उनले भने, ‘म प्रधानमन्त्री हो तर, म एक्लै त छैन नि त।’

सरकारमा सहभागी अर्को दल नेपाली कांग्रेसको नाम नलिएपनि कांग्रेस लगायतका सहभागी दलप्रति लक्षित गर्दै उनले आफू सकेसम्म यही नीतिका आधारमा काम गर्ने बताए।

जब कि प्रधानमन्त्री ओली आफैँले गरेको निर्णय अनुसार शक्तिशाली सुशासन आयोगको अध्यक्ष मात्र होइनन् आफ्नै नेतृत्वको सरकारले सुशासन ऐन संशोधनका लागि अध्यादेशमार्फत कानून बदलेपनि उक्त ऐन बमोजिम कायम मुकायम गभर्नरले आफ्नो पदीय जिम्मेवारी र दायित्व निर्वाह नगर्दा कुनै चासो देखाइरहेका छैनन्।

प्रधानमन्त्री ओलीले संक्रमणकालीन न्यायसंगसम्बन्धी आयोगमा पनि क्षमता भएका व्यक्ति नियुक्ति गरिएको दाबी गरे।

एक आयोगका अध्यक्षलाई मुख्यसचिव हुँदा चिनेको बाहेक अरु पदाधिकारीसँग आफ्नो व्यक्तिगत चिनजान र सम्बन्ध नरहेको उनको भनाई थियो।

उनले पूर्व योजनाकारहरुको संस्थाबाट आफ्ना सोच र अनुभवको आदानप्रदान हुने विश्वास व्यक्त गर्दै व्यक्तित्व टकराव नगरी संस्थाको दिगोपनामा ध्यान दिन आग्रह गरे।

 

प्रकाशित मिति: बिहीबार, जेठ २, २०८२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update