प्रधानमन्त्री केपी शर्मा ओलीले मूल समारोह समितिमा पदेन रहनुपर्ने व्यक्ति (पदाधिकारी)हरु पटक पटक अनुस्थित रहने स्थितिको अन्त्य गर्न सरकारका मुख्यसचिवलाई निर्देशन दिएका छन्।
आगामी जेठ १५ गतेको गणतन्त्र दिवस मनाउन आफ्नो नेतृत्वमा मूल आयोजक समिति गठनका लागि प्रधानमन्त्री कार्यालय सिंहदरबारमा सोमबार आयोजित बैठकमा विगतदेखि नै निरन्तर अनुपस्थित रहँदै आएका काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहप्रति लक्षित गर्दै प्रधानमन्त्री ओलीले यस्तो निर्देशन दिएका हुन्।
बैठकमा प्रधानमन्त्री ओलीले ‘यो कहिल्यै पनि नआउने, र नाम चाहीँ राखिरहनु पर्ने, मानका खाँतिर मानको चलन छोड्दा पनि हुन्छ कि क्या हो?’ भन्दै मुख्यसचिव र अन्य सदस्यहरुको राय खोज्ने कोशिश गर।
विगतको परम्परा र अभ्यास बमोजिम उपत्यकाका महानगरपालिका प्रमुख, उपप्रमुखहरु पनि पदेन सदस्यका रुपमा रहने चलन भएपनि काठमाडौं महानगरपालिका प्रमुख शाह भने विरलै उपस्थित हुने गरेको घटनाप्रति रुष्टता जनाउँदै प्रधानमन्त्री ओलीले भने, ‘केही केही मान्छे सधैँ राख्ने गर्छौँ हामीले हेरक फङ्सनमा, कहिल्यै देखा पनि पर्दैनन्, केही गर्दैनन्, त्यस्ता खालका मान्छे पनि खोज्यो भने भेटिन्छन् कि जस्तो लाग्दछ मलाई त।’ भन्दै हाँसोमा उडाउने कोशिश गरे।
उनले पद र ओहोदाका कारणले उनीहरुको नाम समितिमा सधैँ टाँस्नु पर्ने तर, उत्तः व्यक्तिलाई अर्थै छैन, महत्व नै छैन, वास्तै छैन भने सधैँ नाम झुण्ड्याइरहनु पर्ने कार्य नगरे पनि हुन्छ भन्दै थपे, ‘कि तपाइहरु सोध्नुहोस्, आउने हो कि होइन? रुचि छ कि छैन?’
त्यसपछि मुख्यसचिव एकनारायण अर्यालले प्रधानमन्त्रीको अनुमति लिँदै आफूले देखेको केही कुरा भन्न चाहेका बताए। उनले थप्दै भने, ‘सम्माननीयज्यू (प्रधानमन्त्री)ले चेयर गर्ने फर्मल मिटिङमा आउनु पर्ने बोलाएको मान्छेको कर्तव्य हो। उहाँहरुको जिम्मेवारीभित्र पर्ने विषय हो। अब सोध्न पनि गाह्रो। जिल्ला बाहिर हुँदा त एउटा विषय भयो, होइन हजुर? नत्र भने, फर्मल मिटिङमा आउनु पर्छ भन्ने हाम्रो मान्यता राखेको हो।’
यसैगरी उनले यस्ता बैठकहरुमा प्रधानमन्त्री वा अध्यक्षको अनुमतिविना नै बिचैमा उठेर हिड्ने जाने प्रवृत्ति कुनै पनि मिटिङको डेकोरमभित्र नपर्ने बताए।
त्यसपछि पुनः प्रधानमन्त्री ओलीले बोल्दै हाई लेभल कमिटीमा सहभागिताका लागि आमन्त्रण गर्ने, तर एकपल्टका लागि होइन, दुई पल्टका लागि होइन, तीन पल्टका लागि होइन। तीन पलट लगातार आएन भने त पदै जान्छ (हलमा ओलीसहितको हाँसो), त्यस्तो ठाउँमा चार पल्ट, पाँच पल्ट जति पटक पनि कुनै मतलब नहुने भन्दै आक्रोस व्यक्त गरे।
उनले जसलाई न चाड, न कुनै पर्व, न केही न केही वास्ता नभएपनि सधै बोलाउनु पर्ने बाध्यता हुने, आउनु पर्ने नआउने तर, बोलाइराख्नु पर्ने यस्तो हुँदैन भनि कड्किए।
‘अर्कोपल्टसम्ममा सोधिखोजी गर्नु होला, हेर्नु होला रेकर्ड को को एक पल्ट पनि आउँदैनन्, त्यो रेकर्ड हेरेर, आउने हो कि होइन सोधेर, आउने होइन, आउन सकिन्न भनेदेखि नाम नराख्नु होला,’ प्रधानमन्त्री ओलीले थप्दै भने, ‘हरेक पल्ट इतिहास चाहीँ बनिरहने, नाम चाहीँ छापिरहने, हरेक ठाउँमा परिबाँची हामीले पवित्र नाम गरिरहनु पर्ने, मान्छे नआउने?’
उनले जो परिस्थितजन्य कारणले अनुपस्थित रहन्छन् उनीहरुको सवालमा परिस्थित बुझ्न सकिने भएपनि नियतबस नआउनेलाई बोलाउन जरुरी नभएको बताए।