नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री केपी शर्मा ओलीबिच भेटवार्ता भएको छ।
पछिल्लो समय राष्ट्र बैंकको गभर्नर नियुक्तिको विषयलाई लिएर सत्ता साझेदार दलका दुई शीर्ष नेताहरुबिच मतभेद सुरु भएकोले सरकारको स्थायित्व समेत संकटमा परेको अनुमानमा आधारित समाचारले बजार पिटीरहेकैबेला मंगलबार सभापति देउवा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पुगी प्रधानमन्त्री ओलीसँग भेटवार्ता गरेका हुन्।
छलफलका क्रममा दुई नेताहरुबिच समसामयिक राजनीतिक विषयवस्तुसँगै आगामी आर्थिक वर्षको वार्षिक बजेटका अतिरिक्त गभर्नर नियुक्तिको विषयमा पनि छलफल भएको बालुवाटार स्रोतले बतायो।
विगत डेढ महिनादेखि ऐनको प्रावधानलाई कुल्चिँदै गभर्नर नियुक्तिमा आलटाल र भद्दा मजाक गर्दै आएको सरकारले सोमबारको मन्त्रिपरिषद बैठकबाट नयाँ गभर्नर नियुक्तिको निर्णय गर्ने सम्भावनालाई टार्दै एकाएक मन्त्रिपरिषद बैठक स्थगित गरेपनि सत्ता साझेदार दलका शीर्ष नेताहरुबिच मतभेद र अविश्वास बढेको हल्ला चलाइएको थियो।
जसमा सोमबार साँझ देउवा र ओलीबिच भेटवार्ता हुने भनिएपनि साँझपख प्रधानमन्त्री ओलीको स्वास्थ्यमा केही समस्या आएको भन्दै देउवासँगको भेटवार्ता पनि स्थगित भएको थियो।
तर, मंगलबार बिहान सभापति देउवा उनको स्वास्थ्यस्थितिबारे जानकारी लिन तथा समसामयिक राजनीतिक विषयका अतिरिक्त गभर्नरको विषयमा कुरा गर्न पुगेपछि दुई नेताबिचको वार्ता सकारात्मक रहेको स्रोतको दाबी छ।
छलफलका क्रममा दुई दलका शीर्ष नेताबिच यसअघि नै भएको सहमति बमोजिम कांग्रेसको तर्फबाट गभर्नर पदका लागि प्रस्तावित उम्मेदवार विश्व पौडेलको विषयमा पनि छलफल चलेको थियो।
उनको योग्यताको विषयमा सर्वोच्च अदालतमा परेको रिटमाथि आजै सुनुवाईको पालो आएको स्थितिमा अदालतको आदेश के कस्तो आउँछ त्यसलाई हेरेर गभर्नर सिफारिस समितिको सिफारिसमा सम्भवत आज नाम अगाडि आउने र सकेसम्म चाँडै राष्ट्र बैंकको गभर्नर नियुक्तिको विवाद टुंग्याउने तयारी रहेको छ।
यदि आजको इजलासबाट पौडेलको विषयमा कुनै प्रश्न उठेन भने प्रधानमन्त्री ओली स्वयंले नै नयाँ गभर्नरमा पौडेललाई नियुक्तिको निर्णय मन्त्रिपरिषदबाट गराउन सक्ने वातावरण बन्दैगएको पनि कांग्रेस सभापति देउवा निकट स्रोतको दाबी छ।