हिमाल दैनिक
सरकारको उदारतालाई कमजोरीको रुपमा नलिन राजावादीहरुलाई सरकारको चेतावनी
file photo

सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सरकारको उदारतालाई कमजोरी नठान्न पूर्वपञ्च र राजावादीहरुलाई चेतावनी दिएका छन्।

मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न बिहिबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा गुरुङले राजावादीहरुलाई सभा सञ्चालन गर्ने र बोल्ने अधिकार दिइएको भन्दै निरन्तर संविधान उलंघनको काम भइरहे सरकार टुलुटुलु हेरेर नबस्ने चेतावनी दिए।

उनले अब राजावादीको आगामी गतिविधिको आधारमा सरकारले आवश्यक प्रतिवाद गर्ने सरकारी प्रतिबद्धता व्यक्त गर्दै यस्तो चेतावनी दिएका हुन्।

गुरुङले संविधान विरोधी क्रियाकलाप बढिरहेको र हत्या, हिंसा, लुटपाट र आगजनीबाट सरकारलाई चुनौती दिने काम भइरहेको उल्लेख गर्दै राजावादीको गतिविधिलाई प्रतिबन्ध लगाउनु संवैधानिक छुट भए पनि आजको दिनसम्म प्रतिबन्ध नलगाएको जिकिर पनि गरे।

उनले जेठ १५ गते राजतन्त्र अन्त्य भएर संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था स्थापना भएको ऐतिहासिक दिनलाई सरकारले भव्य रुपमा मनाउन लागेको जानकारी दिए।

परिवर्तनका लागि महत्वपूर्ण योगदान गरेको दलहरु गणतन्त्रका पक्षमा एकै ठाँउमा रहेको उनले बताए।

उता हिन्दु राष्ट्र र राजतन्त्रको पुनस्र्थापनाको माग गर्दै गत चैत १५ गते काडमाडौंको तीनकुनेमा हिंसात्मक घटना घटाएर आफैँलाई चौतर्फी आलोचनाको भूमरीमा धसाएका पूर्वपञ्च र राजावादीहरुको समूहले फेरि गणतन्त्र दिवसको दिन जेठ १५ गतेदेखि निर्णायक आन्दोलन सुरु गर्ने घोषणा गर्दै त्यसको तयारी गरिरहेका छन्।

प्रकाशित मिति: बिहीबार, जेठ ९, २०८२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update