हिमाल दैनिक
गृहमन्त्री लेखकको बचाउमा उभिँदै सिटौलाले भनेः कुनै कर्मचारीले गरेको बदमासीकै भरमा मन्त्रीको राजीनामा माग्नु गलत

नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले कुनै एक जना कर्मचारीले गरेको गल्तीलाई आधार बनाउदै गृहमन्त्रीको राजिनामा माग्नु गलत भएको दाबी गरेका छन्।

आइतबार बिराटनगरमा आयोजित पत्रकार भेटघाटमा सिटौलाले कर्मचारीले गरेको गलत क्रियाकलापलाई आधार बनाएर मन्त्रीको राजिनामा माग्ने कार्यले गलत नजिर बस्ने समेत बताए।

यसअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको सनसनीपूर्ण भिजिट भिसा प्रकरणमा गृहमन्त्रालयका कर्मचारीसँगै गृहमन्त्री रमेश लेखकको सचिवालय सदस्यको पनि नाम जोडिन पुगेलगत्तै विपक्षी दलका अतिरिक्त कांग्रेसभित्रैबाट पनि लेखकको राजीनामा माग्ने क्रम सुरु भएको थियो। शनिबार विराटनगरमा नै कांग्रेस नेता शेखर कोइरालाले गृह मन्त्री रमेश लेखकलाई नैतिकताका आधारमा राजिनामा दिन सुझाव दिएका थिए।

नेता सिटौलाले विगतमा मन्त्रीहरुमाथि नै कुरो उठेकोले राजिनामा दिएको भएपनि अहिले अध्यागमन विभागको कर्मचारीमाथि आरोप लागेको र अख्तियारले छानबिन गरिरहेकोले केही समय पर्खिनुपर्ने बताए।

उनले हिन्दु राष्ट्र र संवैधानिक राजसंस्थाबारे जनमत संग्रह आवश्यक नभएको बताउदै संघीय लोकतान्त्रिक गणतन्त्रको संविधानलाई अझै परिष्कृत र परिमार्जित गर्न संविधानको समिक्षा गरेर संसोधन आवश्यक भएको पनि बताए।

सिटौलाले राजसंस्था कुनै पनि हालतमा फर्किन नसक्ने दाबी गर्दै प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति समेत आवश्यक नभएको तथा नेपालका लागि संघिय लोकतान्त्रिक संसदीय प्रणाली नै उत्तम व्यवस्था भएकाले संविधान संसोधन गरेर थप परिमार्जित गर्नुपर्ने उनको धारणा छ।

त्यस्तै सिटौलाले २०८२ को मंसिरमा कांग्रेसको महाधिवेशन सम्भव नभएकोले ०८३ को दशैंको आसपासमा महाधिवेशनको तयारी गर्नुपर्ने सुझाव दिए।

 

प्रकाशित मिति: आइतबार, जेठ १२, २०८२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update