हिमाल दैनिक
निरंकुशताको अन्त्य र लोकतन्त्र स्थापनाका लागि स्थापित पार्टीभित्रै निरंकुशता सुरु भयोः शेखर कोइराला

नेपाली कांग्रेसका नेता शेखर कोइरालाले लोकतन्त्रको स्थापना र निरंकुशताको अन्त्यको लागि स्थापना भएको कांग्रेस पार्टीभित्रै निरंकुशता सुरु भएको भन्दै गम्भीर चिन्ता व्यक्त गरेका छन्।

पार्टीको १४औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमिति सभापति लगायतका पदाधिकारी तथा सदस्यहरुलाई गगनकुमार थापा र विश्वप्रकाश शर्मा लगायतका समूहले गत पुसमा अपदस्त गर्दै पार्टीलाई आफ्नो कब्जामा पारेपछि त्यसको विपक्षमा रहेका नेता, कार्यकर्ताहरुको सहभागितामा बृहत एकता र साझा प्रतिबद्धताको नारा लिएर विराटनगरमा आइतबार आयोजित कोशी प्रदेश स्तरिय बृहत एकता भेलालाई सम्बोधन गर्ने क्रममा नेता कोइरालाले यस्तो चिन्ता व्यक्त गरेका हुन्।

कोइरालाले लोकतन्त्र इतिहासकै कमजोर अवस्थामा पुगेको भन्दै २०३३ सालमा बीपी कोइरालाले लिएको राष्ट्रिय एकता र मेलमिलापको नीतिको सान्दर्भिकता र आवश्यकता आजका दिनमा झनै बढेर गएको बताए।

कोइरालाले नेपाली कांग्रेस पार्टी यसका संस्थापक नेता बीपी कोइरालाले प्रतिपादन गरेको राष्ट्रिय एकता र मेलमिलापकै नीतिबाट अगाडि बढ्नुको विकल्प नभएको दावी गरे।

कोइरालाले भने, ‘नेपालको राष्ट्रियता, सार्वभौमिकता, अखण्डता र प्रजातन्त्रलाई बजबुत बनाउँन नेपालका सबै शक्तिकाबिच सहकार्य र एकताको जरुरी छ।’

वर्तमान पार्टी नेतृत्व र त्यसको कार्यशैलीको विपक्षमा उभिँदै आएका नेता, कार्यकर्ताहरुको भेलालाई सम्बोधन गर्ने क्रममा नेता कोइरालाले आफूले पार्टीभित्रको एकता कायम गरी अघि बढ्नका लागि गगनकुमार थापासँग कुराकानी गरेको जानकारी दिँदै त्यसक्रममा आफूले पाँच बुँदे प्रस्ताव नै अघि सारेको बताए।

विगत लामो समयदेखि गगन थापा र उनको पक्षसँगको सम्वादबारे खासै चर्चा नगरी बस्दैआएका कोइरालाले आइतबार यसको रहस्योद्घाटन गर्दै गगन थापा कोइराला निवासमा पुगेर पार्टीका साथीहरुलाई कारबाहीको धम्की दिएपछि बाध्य भएर आफूले सहमतिका पाँच बुँदे प्रस्ताव सार्वजनिक गरेको बताए।

सहमतिबिना कांग्रेस पार्टी एक कदम अगाडि बढ्न नसक्ने भन्दै उनले भने, ‘गिरिजाप्रसाद कोइरालाले भन्ने गर्नुभएको सहमति, सहकार्य र एकताबाटै हामी हिड्नुपर्छ, त्यसका लागि सहमति, सहकार्य र एकता आफ्नै पार्टीभित्रबाट शुरु गर्नुपर्छ।’ 

कोइरालाले आफुले कुनैपनि हालतमा पार्टी नफुट्ने र फुट्न नदिने प्रतिबद्धता पनि व्यक्त गरे।

724382968_28025582347044467_5667581825737427262_n1781448586.jpg

त्यसअघि पार्टीका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले वर्तमान नेतृत्वले अपदस्त सभापति शेरबहादुर देउवादेखि आफूसँग सहमत नहुने पक्षलाई शत्रुलाई पनि नगर्ने व्यवहार गरेको आरोप लगाए।

उनले पार्टीको सम्पूर्ण अधिकार गगन थापा र उनको समूहले लिएर बसेको उल्लेख गर्दै विवाद समाधान गरी पार्टी एकता कार्य गर्न चाहे दश मिनेटमै कुरा मिल्ने जिकिर गरे।

भदौ २३ र २४ गतेको घटना अघिसम्म तत्कालीन सभापति र पदाधिकारीबिच आपसी सहमति र सहकार्यका आधारमा पार्टी चलेपनि उक्त घटनापश्चात गगन थापा पक्षले कित्ता बदल्दै विशेष महाधिवेशनको बहानामा पार्टीभित्र विभाजनको दरार पैदा गराएको आरोप लगाए।

साथै उनले त्यसपछिका दिनमा मुलुक सबैतिर भय र त्रासबाट गुज्रिरहेको बताए। 

कार्यक्रममा पूर्वउपसभापति विजयकुमार गच्छदार, नेता बलबहादुर केसी, मोहनबहादुर बस्नेत, सरिता प्रसाई लगायतले पनि पार्टीभित्र उत्पन्न संकट र त्यसको समाधानको बारेमा आफ्ना धारणा राखेका थिए। 
 

 

प्रकाशित मिति: आइतबार, जेठ ३१, २०८३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update