नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले अपराधिक तत्वहरुले आफ्नाविरुद्ध नियोेजित रुपमा बिभिन्न आरोप लगाउने गरेको दाबी गरेका छन्।
सोमबार झापाको गौरीगञ्जमा स्थानीय मतदातासंगको छलफलका क्रममा अध्यक्ष ओलीले भाद्र २३ र २४ गते जेन–जीहरुको आन्दोलनमा अपराधीक तत्वहरु घुसेर बिध्वंस मच्चाएको र तिनै अपराधिक तत्वहरुले उल्टै आफूमाथि गोली चलाएर मान्छे मारेको आरोप लगाउने गरेको बताए।
तत्कालीन प्रधानमन्त्रीको हैसियतमा आफु गत भदौ २३ गते कसैलाई पनि गोली चलाउन आदेश नदिएको स्पष्टोक्ति उनले दिए।
गत भदौ २३ गते विभिन्न माग राख्दै शान्तिपूर्ण जनप्रदर्शनको कार्यक्रममा उत्रिएका नवयुवाहरुको भिड आक्रोसित बन्दै सुरक्षा घेरा तोड्दै नयाँवानेश्वरस्थित संसद भवन तोडफोड गर्दै भित्र प्रवेश गर्न थालेपछि सुरक्षा कारबाहीमा १९ जना प्रदर्शनकारी युवाहरुको मृत्यु भएको थियो।
उक्त दिन र त्यसको भोलिपल्ट संसद भवन, सिंहदरबार जलाउने कोसिस गरेर प्रहरीलाई गोली चलाउने वातावरण अपराधीक तत्वहरुले नै बनाएको जिकिर गरे।
भदौ २४ गते अपरान्ह स्थिति भयावह भएपछि पदबाट राजीनामा दिएर सेनाको हेलिकप्टरमार्फत सुरक्षित स्थानमा ओली लगायत उनको मन्त्रिमण्डलका सदस्यहरुलाई लगिएको थियो।
ओलीले आफुले राजीनामा दिएपछि ५४ जनाको मृत्यु भएको उल्लेख उल्लेख गर्दै संसद भवन, सिंहदरबार लगायतका सरकारी भवनदेखि नीजि व्यापारिक भवनमा भित्र लुट्न पठाएर तलबाट आगो लगाएर मार्ने कार्य अपराधिक षडयन्त्रकारीले गरेको बताए।
आफूविरुद्ध ७६ जनाको जीवन लिएको अरोप लाग्दै आएकोमा त्यसको प्रतिवाद गर्दै उनले भने, ‘हामी सबैलाई थाहा होला, प्रधानमन्त्रीले बन्दुक बोकेर हिँड्दैन। प्रधानमन्त्रीले गोली चलाउने आदेश दिने, नदिने केही पनि गर्दैन। सुरक्षाकर्मीसँग आफैँ आदेश हुन्छ कि अप्ठ्यारो पर्यो भने गोली चलाउने भनेर।’
आफ्ना मतदाताहरुलाई आश्वस्त पार्ने क्रममा उनले भने, ‘कमसेकम तपाईहरुलाई त विश्वास होला, मैले बच्चाबच्ची मार्ने आदेश दिने होइन, म बच्चाबच्चीलाई अत्यन्तै माया गर्छु, युवाहरुलाई माया गर्छु। तर, उल्टै यहाँ त जसले जिन्दगीभरी बच्चाबच्चीलाई सबैभन्दा बढी माया गरेको छ, जसले युवाहरुलाई माया गरेर युवाहरुको उत्थान कसरी गर्ने भन्ने अभियान चलाएको छ उही मान्छेलाई बच्चबच्ची मारेको आरोप! यो अपराधीहरुको काम हो।’
ओलीले मुलुकमा अहिले सबै एकाबद्ध भएर सही काम गर्ने नेता र सही काम गर्ने पार्टी छान्नु पर्नेमा जोड दिँदै फेसनजस्तो लहैलहैमा कुद्न नहुने बताए।
मुलुकको बिकासका लागि एमालेले सवै भन्दा धेरै काम गरेको दावी गर्दै आफ्ना विरोधीहरुले आफ्नाविरुद्ध भ्रम र दुष्प्रचार फैलाउने कोशिश गरिरहेको बताए।
आफूले कतिपय ठाउँहरुमा अझै पनि विजुलीवत्तीको सट्टा गोवर र गुँईठा बाल्नुपर्ने अवस्था रहेको र त्यसबाट बिकास गरेर बिजुली बाल्ने अवस्थामा पुग्नुपर्छ भन्दा केहिले तोडमोड गरेको भन्दै उनले आपत्ति जनाए।
उनले नेपालमा ग्यास उन्खनन भइसकेको भन्दै अव त्यसलाई सदुपयोग गरेर घर–घरमा पाइपबाट बितरण गर्नुपर्ने बताए।
प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि झापा क्षेत्र नं. ५ का उम्मेदवार रहेका ओली पछिल्लो समय झापामा स्थानीयसंगको छलफलमा केन्द्रीत हुँदैआएका छन्।


