हिमाल दैनिक
केन्द्रदेखि वडा तहसम्मै कांग्रेसको नेतृत्व रहेमात्रै मुलुकको विकास र समृद्धीले गति लिन्छः कोइराला

नेपाली कांग्रेसका नेता शेखर कोइरालाले मुलुकको समग्र विकासका लागि जनताले केन्द्रदेखि वडा तहसम्मै कांग्रेसको नेतृत्वलाई मत दिएर जनप्रतिनिधिको रुपमा पठाउन जरुरी भएको धारणा राखेका छन्।

आसन्न फागुन २१ गतेको प्रतिनिधि सभा सदस्य निर्वाचनमा मोरङ जिल्लाको निर्वाचन क्षेत्र नम्बर ६ मा कांग्रेसको तर्फबाट उम्मेदवारी दिएका नेता कोइरालाले शुक्रबार मतदातासमक्ष भेटघाटका क्रममा यस्तो धारणा राखेका हुन्।

आफ्नो निर्वाचन क्षेत्रभित्र पर्ने विराटनगर नगरपालिकाको वडा नम्बर ६ सरौचियाका मतदाताहरुसँग शुक्रबार भेटघाट गर्ने क्रममा पार्टी नेता कोइरालाले विराटनगरको उक्त वडा महानगरपालिकाको मुटु भएपनि विकास, निर्माणको हिसाबले अति नै पिछडिएको कारण जनतामा विकासको अनुभूति गर्न नसकेको स्वीकारोक्ति गरे।

यसका बाबजूद त्यस क्षेत्रका जनताले सधै लोकतन्त्र र प्रजातन्त्रका लागि अडिग भएर उभिएको स्मरण गर्दै आसन्न निर्वाचनमा पनि कांग्रेसको पक्षमा अडिग भएर प्रत्यक्ष र समानुपातिक तर्फ मतदान गर्ने आशा र विश्वास व्यक्त गरे।

उनले पछिल्लो केही वर्षहरुमा विकास, निर्माणको गति विस्तारै अघि बढेको उल्लेख गर्दै आगामी ५ वर्षका लागि केन्द्रदेखि प्रदेश, स्थानीय तह र वडासम्म कांग्रेसकै नेतृत्वमा सरकार बनेको खण्डमा विकास र निर्माणको प्रक्रियाले सही गति लिने मात्र होइन, कांग्रेसको विकास र समृद्धीप्रतिको धारणा के रहेछ भन्ने कुरा अन्य पार्टीहरुलाई पनि थाहा हुने बताए।

साथै उनले आफ्नो क्षेत्रका मतदातालाई स्वयं आफू नै शेखर कोइराला र कांग्रेसको जनप्रतिनिधि हुँ भन्ने भावना लिएर अघि बढ्न पनि आग्रह गरे। 

 

प्रकाशित मिति: शुक्रबार, माघ २४, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update