हिमाल दैनिक
‘ढ्यांग्रो लिएर’ १५ गते काठमाडौंमा उत्रिँदै राजावादीका ‘चामल मन्तर्ने’हरुलाई खेद्न कार्यकर्तालाई ओलीको निर्देशन

प्रधानमन्त्री एवं नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले राजावादीले जेठ १५ गते गर्ने भनेको प्रदर्शनको बिपक्षमा तयारी रहन नेता तथा कार्यकर्तालाई कडा निर्देशन दिएका छन्।

आइतबार ललितपुरमा नेकपा (एमाले)को बागमती प्रदेशस्तरीय जननिर्वाचित वडाध्यक्षहरुको प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले जेठ १५ गतेको सन्दर्भमा पार्टीले आवश्यक निर्देशन जारी गर्ने भन्दै ‘ढ्यांग्रो लिएर मैदानमा उत्रने’ तयारी अवस्थामा बस्न नेता तथा कार्यकर्तालाई निर्देशन दिए।

पूर्व राजा ज्ञानेन्द्र शाहका समर्थकदेखि पूर्वपञ्च र राजावादीहरुको समूहले वर्तमान शासन व्यवस्था बदल्दै मुलुका राजसंस्था र हिन्दु राज्यको स्थापना गर्न जेठ १५ गते निर्णायक आन्दोलन गर्ने घोषणा गर्दै तयारी गरिरहेकाबेला सरकारकै प्रधानमन्त्रीले त्यसको प्रतिवादमा उत्रन कार्यकर्तालाई उक्साएका हुन्।

उनले थप्दैै भने, ‘यो १५ गते तथाकथित राजावादीहरु, यी राजावादी, साझावादी केही होइनन्, खाओवादी हुन्। यिनीहरु के भनेर नारा लाउँथे? ‘हाम्रो राजा हाम्रो देश, प्राण भन्दा प्यारो छ’, हिजो बेलुका पनि नारायणहिटी अगाडि त्यही पो भन्दै रहेछन्। अब प्राण भन्दा प्यारो छ भने, विरेन्द्रलाई त्यत्रो हत्यकाण्ड भएर मार्दाखेरि यिनीहरु कहाँ गाथे? किन मरेनन् त? सबै झुट्टा, बेइमान कुरा गर्ने, चाप्लुसी गर्ने त्यो मण्डलेहरुको स्वभाव हो, बानी हो। झुट्टा कुरा गर्ने, जनता बर्गल्याउने, अलमल्याउने, भ्रममा पार्ने, यिनीहरु कुनै महान उद्देश्यका लागि लडिराखेका छैनन्। सानो स्वार्थका लागि। सरकार अलि मौन बसेको र जनता अलि मौन बसेको अवस्थाको फाइदा लिएर यिनीहरुले अनावश्यक फूर्तिफार्ती देखाएका छन्।’

पूर्व राजावादीहरुलाई अक्षता मन्तर्ने र मन्छाउनेहरुको संज्ञा दिँदै उनले थपे, ‘यसो, अक्षता मन्तर्ने हुन्छ नि, हँम्हुम्हँम...गर्ने। ढ्ंयाग्रो ठोकेर, त्यो मुजुरा लाएर ढ्यांगढुङ गरेर नाँच्न धामी आएपछि त्यो कता जान्छ कता जान्छ। अक्षता फाल्ने। यी अक्षता मन्छाउनेहरु हुन्। ढ्यांग्रो लिएर एमाले मैदानमा उत्रियो भने यी कता कता दुलामा पस्छन्, हाहाहा। त्यसकारण हामीले आफूलाई बुझ्नु पर्यो, आफूलाई चिन्नु पर्यो, आफूलाई त्यसअनुसार तयार राख्नु पर्यो।’

सिंगो राज्यसत्तामा आफै रहेर मुलुक चलाइरहेको पार्टीका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले आफ्नो पदीय मर्यादा, दायित्व र जिम्मेवारीको समेत ख्यालै नगरी सिंगो मुलुक सरकारकोे नियन्त्रणमा हुनु पर्छ भन्नुको सट्टा १५ गते एमालेको नियन्त्रणमा काठमाडौ हुनु पर्ने बताए।

उनले भने,ं ‘म साथीहरुलाई भन्न चाहन्छु, निर्देशन पछि आउला। १५ गतेका लागि यहाँबाट भोलि उठ्नेबित्तिकै १५ गतेको तयारी थाल्नुहोस्। १५ गतेको तयारी थाल्नुहोस्, १५ गते के के गर्नुपर्छ भन्ने कुरा पार्टीले भन्छ। १५ गते ११ बजेदेखि २ बजेसम्म काठमाडौंमा नेकपा एमालेको नियन्त्रण हुनु पर्दछ। कसरी कुन संस्था अगाडि लाग्छ, कुन संस्थाको आयोजना हुन्छ त्यसलाई छोडिदिनुहोस्।’

साथै उनले आन्दोलन कसको नेतृत्वमा अथवा कुन संस्थाको नेतृत्वमा भन्ने विषयलाई छाड्न निर्देशन दिँदै भने, ‘आन्दोलनमा यो प्रोटोकल स्रोटोकलका कुरा हुँदैनन्, यहाँ सभ ागर्ने, बैठक गर्ने ठाउँमा पो यता र यता छ, आन्दोलनमा पनि यता र उता हुन्छ र? सबै एकैतिर भन्दै (हातको इसाराले एकैतिर देखाउँदैै) अगाडि बढ्ने।’

पूर्वराजावादी र नेकपा माओवादीप्रति आक्रामक देखिएका प्रधानमन्त्री ओलीले राजतन्त्रको कुनै जनाधार नभएको भन्दै ग्रामिण क्षेत्रका केही पनि नभएको शहरमा केही उरेन्ठेउला वेरोजगारहरुलाई अलिअलि हजार, दुई हजार पकेटमा हालिदिएर हिँडाएका, लुट्न पाइन्छ, जे जे सक्यो बोक्न पाइन्छ भन्नेहरु आएको बताए।

माओवादीलाई ‘अराजकतावादी’ ट्रेण्डमा आफूलाई तथाकथित वामपन्थी मोर्चा भन्न रुचाउने गिरोह, अर्को दक्षिणपन्थी राजावादी गिरोह रहेको उल्लेख गर्दै यसमा एमाले र कांग्रेसकै गल्तीले आफूहरु प्रतिस्पर्धी पार्टी हौँ भन्दाकै परिणाम यो सबै स्थिति उत्पन्न भएको बताए।
 
प्रधानमन्त्री ओलीले आफूहरुले कम्युनिष्ट भनेर पार्टी एकता गरेपछि लगभग दुई तिहाईमा पुगेको नेकपालाई विभाजनको अपराध गरेर एमालेको देश बनाउने अभियानलाई रोक्न खोजेको भन्दै माओवादी अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एकीकृत समाजवादीवादीका माधवकुमार नेपाल र झलनाथ खनालप्रति आक्रोस व्यक्त गरे।

यसका अतिरिक्त आफ्नाबारेमा समाजमा माओवादी अध्यक्ष स्वयंले भ्रमपूर्ण हल्ला फैलाएको भन्दै कम्बोडियामा ३२ अरब लगानी छ भनेर हल्ला फिँजाउने व्यक्ति प्रचण्ड भएको र त्यस कुराको पछि लाग्ने माधव नेपाल र झलनाथ खनाल रहेको आरोप समेत लगाए।

ओलीले २०६४ सालमा माओवादीले आफ्ना लडाकू क्याम्पमा राखेर र मार्चपास गराएर जनतालाई तर्साएर आतंकको राज गरेकाले आफूहरु पराजित भएको उल्लेख गर्दै अहिले माओवादीले २०६४ सालको जस्तो परिणाम ल्याउने सपना देख्नुमा कुनै दम नभएको दाबी पनि गरे।

ओलीले जनतालाई छिटो र सहज सेवाका साथै विकास र सुशासन कायम गर्ने क्रममा निर्वाचित पालिकाका प्रमुख, उपप्रमुख अरु पार्टी र पक्षसँग पनि राम्रो सम्बन्ध कायम गरी काम गर्न निर्देशन दिए।

 

प्रकाशित मिति: आइतबार, जेठ १२, २०८२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update