हिमाल दैनिक
भिजिट भिसा प्रकरणमा संलग्नता नै नभएका गृहमन्त्री लेखकले पद छाड्ने कुरोे हुँदैनः कांग्रेस

नेपाली कांग्रेसले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको कुनै संलग्नता नरहेको निष्कर्ष निकाल्दै सामाजिक संजालमा फैलिएको हल्लाकै भरमा पदबाट राजीनामा दिने कुरा जायज नभएको स्पष्ट पारेको छ।

पार्टी सभपति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा बसेको कांग्रेस पदाधिकारी, पूर्वपदाधिकारी लगायतका नेताहरुको बैठकले भिजिट भिसा प्रकरणमा गृहमन्त्री लेखकको संलग्नता कतैबाट पुष्टि नहुने भन्दै सामाजिक सञ्जालमा अफवाह फैलाइएका भरमा राजीनामा दिन नहुने निष्कर्ष निकालेको हो।

बैठकपछि कांग्रेस प्रवक्ता प्रकाशशरण महतले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको संलग्नता नरहेको भन्दै त्यसमा संलग्न रहेकालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अनुसन्धानमार्फत दोषीमाथि कारवाही हुनुपर्ने बताए।

बैठकमा गृहमन्त्री लेखकले भिजिट भिसा प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको तथा कुनै कमजोरी नगरेको जिकिर गरेका थिए।

गृहमन्त्रीले धारणा राखेपछि बैठकले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको संलग्नता नरहेको निष्कर्ष निकालेको प्रवक्ता महतले बताए।

बैठकले यस बिषयमा संसद भित्र र बाहिर आफ्नो कुरा स्पष्टसँग राख्न गृहमन्त्री लेखकलाई सुझाव दिएको पनि महतले जानकारी दिए।

उनले भिजिट भिसा प्रकरणको छानविनको दायरामा समेत गृहमन्त्री नरहेकाले राजीनामा दिनुपर्ने कुनै आवश्यकता नरहेको कांग्रेसको धारणा सार्वजनिक गरे।

प्रवक्ता महतले जेठ १५ गते काठमाडौं कव्जा गर्ने प्रधानमन्त्रीको अभिव्यक्तिको जिम्मेवारी कांग्रेसले नलिने बताए। उनले आफुहरु कब्जाको पक्षमा नरहेको उल्लेख गर्दै शान्तिपूर्ण तवरले संविधानको प्रयोग गरेर विरोध गर्न र आफ्ना कुरा राख्न पाउनुपर्छ भन्ने पक्षमा रहेको बताए।

 

प्रकाशित मिति: सोमबार, जेठ १३, २०८२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update