हिमाल दैनिक
गृहमन्त्रीको राजीनामा माग्दै विपक्षीद्वारा संसद बैठक अवरुद्ध

भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै प्रतिपक्षी दलले प्रतिनिधि सभा बैठक अवरुद्ध पारेका छन्।

मंगलबार प्रतिनिधि सभा बैठक सुरु हुनेबितिकै माओवादीलगाएतका प्रतिपक्षी दलका सांसदहरुले उठेर विरोध जनाउदै गृहमन्त्री लेखकको राजीनामा माग गरेका हुन्। उनीहरुले छानविन समिति बनाएर गृहमन्त्रीमाथि अनुसन्धान गर्न समेत माग गरेका छन्।

प्रतिपक्षी दलले उठेर विरोध जनाएपछि सभामुख देवराज घिमिरेले माओवादी केन्द्रका सांसद बर्षमान पुनलाई बोल्न समय दिएका थिए।

पुनले भिजिट भिसा प्रकरण मानवतस्करीसंग जोडिएको उल्लेख गर्दै बिमानस्थलभित्रकै भ्रष्टाचार राजनीतिक संरक्षणबिना सम्भव नरहेको दाबी गरे।

सो प्रकरणमा गृहमन्त्री प्रत्यक्ष जोडिएको देखिएकाले राजीनामा दिएर अनुसन्धानलाई सहयोग गर्न उनले सुझाव दिए।

पुनले गृहमन्त्रीले राजीनामा दिएर अनुसन्धान हुने वातावरण नबनेसम्म सदन चल्न नसक्ने स्पष्ट अडान राखेपछि माओवादी लगायत विपक्षी दलका सदस्यहरु उभिएर सदनको कारबाही अवरुद्ध पारे।

सभामुख घिमिरेले पूर्वनिर्धारित कार्यतालिका अनुसार, अन्य सदस्यहरुले पनि समसामयिक विषयमा आफ्ना धारणा राख्न समय माग गर्नुका साथै भिजिट भिसाकै सवालमा गृहमन्त्री लेखकले पनि समय माग गरेको जानकारी दिँदै विपक्षी दलका सदस्यहरुलाई बसेर सदनको कारबाही सहजरुपमा अघि बढाउन सहयोगका लागि पटक पटक आग्रह गरे।
 
यसका बाबजूद पनि विपक्षी दलका सदस्यहरु नबसेपछि उनले रास्वपा सांसद शिशिर खनाललाई बोल्न समय दिए। खनालले भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन आयोगमार्फत गृहमन्त्रीमाथि अनुसन्धान हुनुपर्ने माग गरे।

उनले गृहमन्त्री लेखक पदमा रहेसम्म निष्पक्ष छानविन हुन्छ भनेर विश्वास गर्न नसकिने भन्दै राजीनामा दिनुपर्ने जिकिर गरे।

निष्पक्ष छानविनका लागि समिति गठन नभएसम्म सदन चल्न नदिने चेतावनी दिँदै सदनमा उभिएर विरोध जनाए।

गृहमन्त्रीको राजीनामा माग्दै प्रतिपक्षीले सदनमा विरोध गरेपछि सभामुख घिमिरेले आसनग्रहण गरेर सहज रुपमा सदन चल्ने वातावरण बनाउन पुनः आग्रह गरे।

प्रतिपक्षीको विरोधकैबीच कांग्रेस प्रमुख सचेतक श्याम घिमिरेले बोल्नका लागि समय माग गरेपछि सभामुख घिमिरेले बोल्न समय दिदा बिपक्षी दलहरु नारावाजीमा नै उत्रिएका थिए।

प्रतिपक्षी दलले निरन्तर नारावाजी गरेपछि प्रतिनिधिसभा बैठक ३० मिनेटका लागि बैठक स्थगित गरिएको छ।

प्रकाशित मिति: मंगलबार, जेठ १४, २०८२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update