भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै विपक्षी दलले सदनको कारबाही अवरुद्ध पारेपछि अवरोध खुलाउन सभामुख देवराज घिमिरेले संसदमा रहेका सबै दलका प्रमुख सचेतक, सचेतहरुसहितको बैठक राखेका छन्।
केही समयअघि मात्रै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अध्यागमनका कर्मचारीले म्यानपावर व्यवसायीसँगको मिलोमतोमा रकम असुली गर्दै अवैधानिक रुपमा भिजिट भिसामा खाडी र युरोपका कतिपय मुलुकमा नेपाली कामदार पठाउने गरेको विषय सार्वजनिक भएलगत्तै गृहमन्त्री लेखक र उनको सचिवालय विवादमा तानिएको थियो।
सोही विषयलाई मुद्दा बनाएर प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी र राष्ट्रिय स्वतन्त्र पार्टी लगायतका विपक्षी दलका सांसदहरुले यसबारे छानविन गरी सत्यतथ्य बाहिर ल्याउन र दोषीमाथि कानूनी कारबाहीको अतिरिक्त अनुसन्धानलाई निश्पक्ष ढंगले अघि बढाउन तत्काल गृहमन्त्री लेखकले राजनीनामा दिनु पर्ने अडान लिँदै आएका छन्।
तर, उक्त विषयमा आफ्नो संलग्नता नै नरहेको भन्दै यसबारे आफूलाई सदनमार्फत मुलुक र जनतालाई स्पष्ट पार्न सभामुख घिमिरेसँग मन्त्री लेखकले समय माग गर्दैआएका छन्।
यसका बाबजूद मंगलबारको बैठकमा पनि गृहमन्त्रीको राजीनामा माग गर्दै सदन अवरुद्ध पारेका विपक्षी दलले बुधबार पनि अवरोध कायमै राख्ने निर्णय गरेपछि सभामुख घिमिरेले अवरोध खुलाउने उपायको खोजी गर्न अहिले दलका सचेतक, प्रमुख सचेतक लगायतसँग वार्ता गरेका हुन्।
यसअघि आजै बिहान प्रधानमन्त्री केपी शर्मा ओलीलाई कांग्रेस सभापति शेरबहादुर देउवालाई लिएर भेट्न पुगेका गृहमन्त्री लेखकले उक्त घटनामा आफ्नो कुनै संलग्नता नै नरहेको भनि स्पष्ट पारेपछि प्रधानमन्त्री ओली र सभापति देउवाले यसबारे गृहमन्त्रीको राजीनामा आवश्यक नभएको निष्कर्ष निकालेका थिए।
त्यसलगत्तै ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालललाई टेलिफोनमार्फत सदनको अवरोध खुलाउन गरेको आग्रहको जवाफमा दाहालले गृहमन्त्री लेखकको राजीनामासँगै यसबारे सदनमा प्रधानमन्त्री स्वयंले जवाफ दिनु पर्ने अडान दोहोर्याएका थिए।
संविधानको व्यवस्था बमोजिम जेठ १५ गते सरकारको वार्षिक बजेट अनिवार्य संयुक्त सदनमा प्रस्तुत गर्नुपर्ने बाध्यकारी व्यवस्था रहेकै समयमा सदनको अवरोधले सरकारलाई आफ्नो बजेट पेश गर्नुअघि आर्थिक सर्वेक्षणको प्रतिवेदन पेश गर्न पनि अवरोध श्रजना भएको छ।