गृहमन्त्री रमेश लेखकले भिजिट भिसा प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको स्पष्टिकरण दिएका छन्।
बुधबार संसद भवनको ल्होत्से हलमा पत्रकार सम्मेलन गर्दै मन्त्री लेखकले भिजिट भिसा प्रकरणमा आफनो संलग्नता रहेको भन्ने असत्य र बेठीक कुरा रहेको दाबी गरे।
उक्त विषयलाई मुद्दा बनाएर विपक्षी दलका सदस्यहरुले मंगलबार र बुधबारको प्रतिनिधि सभा बैठक अवरुद्ध पार्दै यसबारे उठेका प्रश्नको जवाफका लागि सभामुखसँग पटक पटक समय माग गर्दापनि बोल्ने समय नमिलेपछि लेखकले संसद भवन परिसरमै पत्रकारमार्फत आफ्ना धारणा बाहिर ल्याएका हुन्।
उनले आफुबिरुद्ध नियोजित र षड्यन्त्रमूलक ढङ्गले आक्रमण गरिएको भन्दै यो आक्रमण राजनीतिक पूर्वाग्रहले प्रेरित रहेको जिकिर गरे।
भिजिट भिसा प्रकरणमा अख्तियारबाट हुने कुनै पनि कारवाहीलाई स्वागत गर्ने उनले जानकारी दिँदै आफुले लोकतन्त्र र सुशासनमा विश्वास गर्ने भएकाले अख्तियारबाट हुने अनुसन्धानलाई प्रभावित पार्ने कुनै पनि काम नहुने स्पष्ट पारे।
गृहमन्त्री लेखकले अन्यत्रबाट नभइ गृहमन्त्रालयकै कसुरजन्य सम्पत्ति विभागमा रहेका तीर्थराज भट्टराईलाई बिमानस्थल अध्यागमनमा सरुवा गरिएको प्रष्टिकरण दिए।
संविधानले अधिकार प्रदान गरेको सक्षम निकायले राष्ट्रसेवक कर्मचारीमाथि अनुसन्धान गर्नुपर्ने क्रममा अनुसन्धानले पूर्णता नै नपाउदा सम्बन्धित मन्त्रालयको नेतृत्वसँग जोडेर प्रचार प्रचार गर्ने हो भने शासन व्यवस्था ठिक ढंगले चल्न नसक्ने उनको जिकिर छ।
गृहमन्त्री लेखकले यसअघि कर्मचारीमाथि अख्तियारले छानबिन गर्दैमा मन्त्रीले राजीनामा दिएको अवस्था नरहेको भन्दै आफुले पनि न्याय पाउनुपर्ने जिकिर गरे।
उनले आफुबिरुद्ध कुनै उजुरी वा कुनै छानविन नभएको अवस्थामा पूर्वाग्रह राखेर कर्मचारीमाथि भएको अनुसन्धानलाई राजनीतिक नेतृत्वसंग जोड्न खोजेको आरोप लगाए।
त्यस्तै सञ्चारकर्मीको प्रश्नमा गृहमन्त्री लेखकले अहिलेको व्यवस्थाबिरुद्धको गतिविधि जायज नभएको भन्दै गणतन्त्रलाई उत्सवको रुपमा मनाउने कुरा संगीतमय हुनसक्ने भएपनि गणतन्त्र फाल्ने कुरा संगीतमय हुन नसक्ने तर्क गरे।