हिमाल दैनिक
संवैधानिक बाध्यतामा बाँधिए विपक्षी, संसदमा बजेट पेश गर्ने बाटो खुल्यो

भिजिट भिसा प्रकरणलाई लिएर गत मंगलबारदेखि सदनको कारबाही अवरुद्ध पार्दै आएको विपक्षी मोर्चाले बिहिबारको प्रतिनिधि सभा बैठक भने विनाअवरोध अघि बढ्न दिएको छ।

बिहिबार अपरान्ह १ः३० बजेका लागि डाकिएको प्रतिनिधि सभाको बैठकमा सभामुख देवराज घिमिरेले सदनको कारबाही सुरु गर्नासाथ विपक्षी दलका सदस्यहरुले विरोध जनाएपछि नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेलाई बोल्न समय दिएका थिए।

संसदमा बोल्ने क्रममा सांसद पाण्डेले आफूहरुले विगत केही दिनदेखि भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा नआएसम्म सदन चल्न नदिने अडान लिँदै आएकोमा संविधानको प्रावधान बमोजिम प्रत्येक वर्षको जेठ १५ गते सरकारको वार्षिक बजेट तथा आय÷व्ययको अनुमान प्रस्तुत गर्नुपर्ने बाध्यकारी प्रावधानका कारण आजको बैठक अघि बढ्न दिने भन्दै अन्य सवालमा आफूहरुको सदनभित्रको आन्दोलन कायमै रहेको जानकारी दिए।

विपक्षी दलहरुको अवरोध हटेपछि आजै अपरान्ह ३ बजेका लागि संघीय संसदको संयुक्त बैठकमा सरकारका अर्थमन्त्रीले आगामी आर्थिक वर्षको वार्षिक बजेट विनारोकटोक प्रस्तुत हुने वातावरणको सुनिश्चिता भएको छ।

त्यसपछि सभामुख घिमिरेले आजको बैठकमा राखिएको शून्य र विषय समयमा बोल्ने कार्यक्रम कार्यसूचिबाट हटाइएको जानकारी गराउँदै चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षण पेश गर्न सरकारका अर्थमन्त्री एपं उपप्रधानमन्त्री विष्णु पौडेललाई बोल्न समय दिएका छन्।

 

प्रकाशित मिति: बिहीबार, जेठ १६, २०८२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update