
सरकारले चालु आर्थिक वर्ष मुलुकको आर्थिक वृद्धि ४ दशमलव ६१ प्रतिशत रहने अनुमान गरेको छ।
संवैधानिक बाध्यताबस विपक्षी दलहरुले जारी राख्दै आएको बैठक अवरुद्ध नपार्ने निर्णयलगत्तै सभामुख देवराज घिमिरेको अनुमतिमा बिहिबार प्रतिनिधि सभा बैठकमा आर्थिक सर्वेक्षण प्रस्तुत गर्दै उपप्रधान एवं अर्थमन्त्री बिष्णु पौडेलले प्रदेशगत रूपमा मधेस प्रदेश, कोसी प्रदेश र सुदूरपश्चिम प्रदेश बाहेक सबै प्रदेशको आर्थिक वृद्धिदर राष्ट्रिय औसत ४ दशमलव ६१ प्रतिशत भन्दामाथि रहेको अवस्थामा समग्र मुलुकको आर्थिक वृद्धि ४ दशमलव ६१ प्रतिशत रहने अनुमान गरिएको जानकारी दिए।
चालु आर्थिक वर्षमा नेपालको अर्थतन्त्रको आकार रु.६१ खर्ब ७ अर्ब पुग्ने अनुमान रहेको उनले बताए।
चालु आर्थिक वर्षको फागुनसम्म सङ्घीय खर्च ४ दशमलव ७ प्रतिशत र सङ्घीय राजस्व १२ दशमवल ६ प्रतिशतले बढेको पौडेलले जानकारी दिए।
यस अवधिमा सङ्घीय सरकारको वित्त घाटा रु.१६ अर्ब १९ करोड रहेको छ। गत आर्थिक वर्षको यसै अवधिमा यस्तो घाटा रु.७० अर्ब ३६ करोड रहेको थियो। २०८१ फागुनसम्म सङ्घीय सरकारको तिर्न बाँकी सार्वजनिक ऋण रू.२६ खर्ब ७६ अर्ब ४ करोड पुगेको अर्थमन्त्री पौडेलले बताए।
उनले चालु आर्थिक वर्षको फागुनसम्म वस्तु निकासी ५७ दशमव २ प्रतिशत र वस्तु पैठारी ११ दशमलव २ प्रतिशतले बढेको, विप्रेषण आप्रवाह ९ दशमलव ४ प्रतिशतले बढेर रु.१० खर्ब ५१ अर्ब ७७ करोड पुगेको जानकारी दिए।
उनले वैकल्पिक ऊर्जासहित ९९ प्रतिशत जनसङ्ख्यामा विद्युतको पहुँच पुगेको, कुल जडित विद्युत् क्षमता ३,६०२ मेगावाट पुगेको र देशभर सडकको लम्बाई ३६ हजार १ सय ३२ किलोमिटर पुगेको उल्लेख गरे।
सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीको सङ्ख्या ३७ लाख ६ हजार ३ सय ८९ रहेको मन्त्रालयले जनाएको छ।
त्यस्तै आर्थिक वर्ष २०८०÷८१ मा सार्वजनिक संस्थानको कुल सम्पत्ति गत आर्थिक वर्ष भन्दा २ दशमलव २० प्रतिशतले वृद्धि भई रु.२९ खर्व १० अर्ब १७ करोड पुगेको अर्थमन्त्री पौडेलले जानकारी दिए।
सञ्चालनमा रहेका संस्थानमध्ये २८ वटा नाफामा, १५ वटा घाटामा र २ वटा बन्द अवस्थामा रहेको उहाको भनाइ छ।
विगतको संसदीय अभ्यास र परम्परा अनुसार, सरकारका अर्थमन्त्रीले हरेक आर्थिक वर्षको वार्षिक बजेट सदनमा प्रस्तुत गर्ने एक वा दुई दिनअगावै सरकारको आर्थिक सर्वेक्षण प्रतिवेदन सार्वजनिक गर्ने प्रचलन रहिआएको थियो।
तर, यसपटक विवादस्पद भिजिट भिसा प्रकरणको विषयलाई विपक्षी दलले मुद्दा बनाएर गृहमन्त्रीको राजीनामा नआएसम्म सदनको कारबाही चल्न नदिने अडान लिँदै मंगलबार र बुधबारको बैठक अवरुद्ध पारेपछि अर्थमन्त्री पौडेलले आजै बजेट पेश गर्नु अगाढि मात्रै सर्वेक्षण प्रतिवेदन पेश गरेका हुन्। अबको केही समयमा मन्त्री पौडेलले संघीय संसदको संयुक्त बैठकमा वार्षिक बजेट पेश गर्दैछन्।