हिमाल दैनिक
संसदको गतिरोध अन्त्यका लागि प्रमुख दलका शीर्ष नेतासँग प्रधानमन्त्री ओलीको छलफल जारी
Photo: PM KP SharmaOli's Secretariat

संसदको गतिरोध अन्त्य लगायत समसामयिक विषयमा छलफलका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको प्रमुख दलका शीर्ष नेताहरुको बैठक सुरु भएको छ। 

प्रधानमन्त्री ओलीको निजी सचिवालयले दिएको जानकारी अनुसार, अहिले प्रधानमन्त्री ओलीको आग्रहमा सत्तारुढ नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका शीर्ष नेताहरुबिच छलफल चलिरहेको छ। 

बैठकमा प्रधानमन्त्री ओलीसँग कांग्रेस सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, नेता कृष्णप्रसाद सिटौला, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेताद्वय देवप्रसाद गुरुङ, हितराज पाण्डेसँगै सांसद महेन्द्र राय यादव र गृहमन्त्री रमेश लेखक सहभागी रहेका छन्।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन शाखामा विगतदेखि गैरकानूनी रुपमा चल्दैआएको भनिएको भिजिट भिसा प्रकरणमा गृहमन्त्री लेखकले नैतिकताका आधारमा राजीनामा दिनु पर्ने र यसबारे सदनमा प्रधानमन्त्री ओलीले जवाफ दिनुपर्ने माग गर्दै माओवादीसहितका विपक्षी दलका सांसदहरुले संसद अधिवेशन अवरुद्ध पार्दैआएका छन्।

संवैधानिक बाध्यताका कारण सरकारको वार्षिक बजेट जेठ १५ गते संघीय संसदको संयुक्त बैठकमा प्रस्तुत गर्न अवरोध नपुर्याएका विपक्षी दलहरुले भोलि मंगलबारदेखि सुरु हुने भनिएको बजेटमाथिको दफावार छलफल र निर्णय प्रक्रियालाई गृहमन्त्रीको राजीनामाको पासो थापेर अल्झाउने कोशिश गरिरहेकै बेला त्यसो अन्त्यका लागि प्रधानमन्त्री ओलीले शीर्ष नेताहरुको बैठक बोलाएका थिए।

यसअघि प्रधानमन्त्री ओलीले भिसा प्रकरणमा कुनै संलग्नता नै नदेखिएका गृहमन्त्रीले राजीनामा दिने कुरामा सहमत हुन नसकिने भन्दै गतिरोध अन्त्यका लागि माओवादी अध्यक्ष दाहालसँग पटक पटक सम्पर्क गर्न खोज्दा पनि सम्पर्कमा नआएको भन्दै असन्तुष्टि व्यक्त गरेका थिए।

यसका अतिरिक्त आजको बैठकमा पछिल्लो समय गणतन्त्र र संघीयतासहितको संविधानको विरोधमा राजतन्त्र र हिन्दुराज्य स्थापनाको नारा लिएर सडक आन्दोलनमा उत्रिएका राजावादी आन्दोलनबारे पनि छलफल हुन सक्ने बताइएको छ। 

प्रकाशित मिति: सोमबार, जेठ २०, २०८२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update