भिजिट भिसा प्रकरणलाई लिएर गृहमन्त्रीको राजीनामालार्इृ पूर्वसर्त बनाउँदै विपक्षी दलहरुले सदन अवरोधको नीति कायमै गरेपछि प्रतिनिधि सभाको मंगलबारको बैठक बस्दै नबसी स्थगित भएको छ।
विगत लामो समयदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन शाखाबाट भिजिट भिसाका नाममा विदेशमा गैरकानूनी ढंगले कामदार पठाइरहेको भन्ने समाचारलाई आधार बनाएर प्रमुख विपक्षी दलसहितका विपक्षी दलका सांसदहरुले गृहमन्त्री लेखकको राजीनामाको माग गर्दै यसबारे उच्चस्तरिय छानविन समिति गठनको मागसँगै प्रधानमन्त्रीको जवाफ माग्दै आएका थिए।
आफूहरुको माग बमोजिम गृहमन्त्री लेखकले पदबाट राजीनामा दिन तयार नभएपछि सत्ता र प्रतिपक्षी दलका शीर्ष तहका नेतादेखि प्रमुख सचेतकहरु समेतको अलग अलग प्रयासबाट संसदको गतिरोध अन्त्यको प्रयास मंगलबार पनि विफल भएपछि सभामुख देवराज घिमिरेले मंगलबारको बैठक बुधबार १ बजेसम्मका लागि स्थगित भएको सूचना प्रकाशित गर्न लगाएका थिए।
यसअघि बिहानैदेखि विभिन्न चरणमा सत्ता र प्रतिपक्षी दलका प्रतिनिधिहरुसँग औपचारिक, अनौपचारिक वार्ता गरी गतिरोध अन्त्यको प्रयास गर्दै बिहान ११ बजेका लागि तय भएको प्रतिनिधि सभाको बैठक अपरान्ह २ बजेका लागि तोकिएको थियो।
तर, पूर्वनिर्धारित समयभन्दा एक घण्टा ज्यादा समय घर्किसक्दा पनि सत्ता र प्रतिपक्षी दलका नेताहरुबिच सहमतिको वातावरण बन्न नसकेपछि आजको बैठक स्थगित भएको हो।
भिजिट भिसा प्रकरणको विषयमा गृहमन्त्री लेखकले सुरुदेखि नै सदनलाई यसबारे जानकारी दिन सभामुख घिमिरेसँग समय मागेपनि उनलाई बोल्नबाट विपक्षी दलका सांसदहरुले बञ्चित गर्न सदनमा नाराबाजी र अवरोध गर्दैआएका थिए।
यसबिचमा संवैधानिक वाध्यताका कारण उनीहरुले जेठ १५ गतेको संघीय संसदको बैठकमा भने सरकारको वार्षिक बजेट प्रस्तुत गर्न सघाउन तयार रहेको भन्दै बजेट प्रस्तुत गर्न अवरोध हटाएका थिए।
त्यसपछि स्थगित भएको संसदको बैठक आजका लागि तय गरिएको थियो। जहाँ सरकारको बजेटमाथिको छलफल र लामो समयदेखि संसदमा विचाराधिन अवस्थामा रहेको निजामति सेवा गठन तथा संचालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक समितिको प्रतिवेदनसहित पेश गर्ने कार्यसूचि रहेको थियो।
तर, गृहमन्त्रीको राजीनामाको अडानमा अल्झिएको विपक्षी र त्यो माग पूरा गर्न नसकिने जिकिरमा अडिएको सत्तापक्षबिच सहमति नहुँदा सदनको अवरोध थप लम्बिने र विवाद बल्झिने सम्भावना बढेर गएको छ।